तपाईँ सुन्दै हुनुहुन्छः

‘हाम्रै हो लिपुलेक’ गीतका गायक धामीलाई अवार्ड

बैतडी । ‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो । 

उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज रहेको छ भने, विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ । २०७७ साल मङ्सिरमा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । 

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगी मध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्याङ्कनको आधारमा विजेता छनौट गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको भवन काठमाडौँमा अवार्ड प्रदान गरिएको हो । 

अवार्डले आफूलाई हौसला प्रदान गरेको गायक धामीले बताउनुभयो । आगामी दिनमा अझै राम्रा सृजनाहरू बजारमा ल्याउन मेहेनत गर्ने उहाँले बताउनुभयो ।

“हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी बोलको गीत” २०७७÷०७८मा बजारमा आएका गीतहरूबाट छनौट भई टप ५ मा परी एक नम्बरमा पर्न सफल भएको हो ।

गायक धामीका १ दर्जन देशभक्ति गीतहरू र ५० बढी लोकदोहोरी तथा देउडा गीत बजारमा उपलब्ध छन् । दार्चुला स्थायी घर भएका धामी २०६६ सालदेखि कलाकारिता क्षेत्रका आबद्ध छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button