तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा र्‍याली, रक्तदान, सम्मान र निःशुल्क स्वास्थ्य परीक्षण 

बीरगंज । ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस आज वीरगन्जमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगन्जमा प्रभात फेरी निकालिएको छ । वीरगन्जको घण्टाघरबाट निस्किएको र्‍यालीले  नगर परिक्रमा गरी पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

सभालाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्कीले विगतमा घर परिवारमा मात्रै सीमित भएकी नारी पछिल्लो समय राजनीतिदेखि व्यवसायमा आबद्ध भएर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

उहाँले आफ्नो मन्तव्यमा संविधानले महिला जनप्रतिनिधिहरूलाई पद दिए पनि अधिकारबाट वञ्चित गरेको गुनासो समेत गर्नुभयो । 

कार्यक्रममा वक्ताहरूले महिलाको हक अधिकारको कुरा जति उठाए पनि कार्यान्वयन नहुँदा महिला हिंसा अन्त्य गर्न तथा लैङ्गिक समानताका लागि अझै सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, महिला अधिकारकर्मी लगायत विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमको आयोजना माइती नेपाल, आफन्त नेपाल, आवाज सञ्चार, सानो पाइला लगायतका सङ्घसंस्थाले संयुक्त रुपमा गरेका थिए ।

यसैगरी 
११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ब्लड डोनर्स एसोसिएसन पर्साले आज वीरगन्जको अलखियामठ स्थित राजभण्डारी कम्प्लेक्समा रहेको युनिटी फुड र्कोटमा महिलाहरूको लागी महिलाहरूद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा २१ महिला र २१ जना पुरुष गरी ४२  जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । 

कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरूको सहयोगमा सम्पन्न भएको राजन श्रीवास्तवले जानकारी दिनुभयो । 

यसैगरी

ईम्प्रुभिंग वीरगन्ज नामक संस्थाले पनि नारी दिवसको अवसरमा आज वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूलाई सम्मान गरेको छ । 

संस्थाका अध्यक्ष शरण गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिपिसी कलेजका निर्देशक डाक्टर दिपक शाक्य, नेपाली काँग्रेसका युवा नेता कन्चन झा, मिनाक्षी गुप्ता, शुष्मा तिवारी द्धिबेदी, पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, सानो पाइला सहकारी संस्थाकी तस्बिरन  खातुन, लगायतको सहभागिता रहेको थियो ।

यता
महिला दिवसकै अवसरमा बीरगंज युवा समाजले वीरगन्ज कारागारमा रहेका महिला कैदी बन्दीहरूका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

त्यस अवसरमा कारागारमा रहेका ६४ जना महिला कैदी बन्दीको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको समाजका अध्यक्ष कमल चौगाईले जानकारी दिनुभयो । 

नारायणी अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा.दीप्ति यादव, प्रीति यादव नेतृत्वको टोलीमा अस्मिता गौतम, सृष्टि विष्ट, स्मृति क्षेत्री लगायतका स्वास्थ्यकर्मीहरूले महिलाहरूको परिक्षण गरेका थिए । 

स्वास्थ्य शिविरको एक कार्यक्रमबिच पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्घाटन गर्नुभएको थियो । 

शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, वीरगन्ज नर्सिङ क्याम्पस प्रमुख सूर्य कोइराला, सन्दीप थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button