अपर बलेफी-ए उत्पादनको तयारीमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा निर्मित ३६ मेगावाटको अपर बलेफी–ए जलविद्युत आयोजनाको व्यावसायिक उत्पादनको तयारीमा रहेको छ ।
जिल्लाको जुगल गाउँपालिकामा निर्मित अपर बलेफी–ए जलविद्युत आयोजनाले व्यावसायिक उत्पादनको तयारीमा जुटेसँगै थप ३६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।
२०७४ सालबाट निर्माण थालिएको यो आयोजना बलेफी हाइड्रोपावर लिमिटेडको अगुवाइमा निर्माण पूरा भएको हो । आयोजनाको प्राविधिक परीक्षण पनि सफल भइसकेको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजूले जानकारी दिनु भयो । अध्यक्ष कसजुको अनुसार आगामी चैतभित्र आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

लिमिटेडले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । लामोसाँघुस्थित विद्युत् प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सब–स्टेशनमार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
ब्रह्मायणी नदीको गोल्चे र गुम्बामा बाँध रहेको आयोजनाको उत्पादन गृह गोल्चेको बैकुण्ठेमा निर्माण गरिएको छ । बाँध र उत्पादन गृहलाई चार हजार तीन सय मिटर भूमिगत सुरुङले जोडेको आयोजनाले जनाएको छ । जुगल गाउँपालिकाको वडा नं. २, ३ र ४ मा आयोजना फैलिएको छ भने आयोजनाको पानीको मुख्य स्रोत जुगल हिमशृङ्खलाबाट पग्लने हिउँ र विभिन्न खहरे, खोल्सा रहेको छ । कसजूका अनुसार पानीको स्रोत र बहाव घट्ने हिउँदको समय भएकाले आयोजनाबाट तत्काल १५ मेगावाट विद्युत् उत्पादन हुने प्राविधिक प्रक्षेपण रहेको छ ।

२०७० सालमा लिमिटेड र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पिपिए) भएको यो आयोजना निर्माणमा झण्डै ७ अर्ब रुपैयाँ लगानी भएको लिमिटेडका कार्यकारी अध्यक्ष कसजुको भनाई छ । उहाँको अनुसार ७० प्रतिशत बैङ्क ऋण र ३० प्रतिशत कम्पनीले बेहोरेर लगानी जुटाइएको हो । आयोजना निर्माणमा ग्लोबल आइएमइ बैङ्कको नेतृत्वमा नेपाल वाणिज्य बैङ्क, एभरेष्ट बैङ्क र सानीमा बैङ्कले ऋण लगानी गरेका छन् ।
सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट हिउँदमा आठ र वर्षामा चार रुपैयाँका दरले विद्युत् खरिद गर्ने छ । आयोजनाले स्थानीय प्रत्यक्ष प्रभावितका लागि १८ करोड रुपैयाँको सेयर निष्कासन गरेको छ । अहिले स्थानीयले धमाधम सेयर खरिद गरिरहेका छन् । अबको दुई सातापछि सर्वसाधारणका लागि १८ करोड रुपैयाँकै शेयर निष्कासन गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्