रेडियो नेपालको डिजिटाइजेसन र आर्काइभिङ सम्बन्धी ६ दिने तालिम सम्पन्न

काठमाडौँ । रेडियो नेपालले आफ्ना श्रव्य सामाग्रीहरूलाई समायानुकुल डिजिटल प्रविधिमा रूपान्तरण गरी अभिलेख राख्ने सम्बन्धमा आयोजना गरेको ६ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालमा भएका अडियो कन्टेन्टलाई उच्च प्रविधिको प्रयोग गरी पछिसम्म जीवित राख्ने पहिलादेखिकै आफ्नो ड्रिम प्रोजेक्ट भएको र यो तालिमबाट पुरा हुने बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले २००७ सालदेखि अहिलेसम्मका अडियो कन्टेन्ट रेडियो नेपालको सम्पत्ति भएकाले यसलाई चिरकालपर्यन्त बनाउन तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले रेडियोका पुराना विषयवस्तुलाई डिजिटाइजेसनमार्फत विश्वभर डेलिभरी गर्ने र अनलाइन बिजनेस पनि गर्न सकिने बताउनुभयो ।

रेडियो नेपाल तालिम शाखा प्रमुख जनार्दन विष्टले तालिम रेडियो नेपालका श्रव्य सामाग्रीहरूको भविष्यमा संरक्षण र प्रयोगमा उपयोगी हुने बताउनुभयो ।
तालिममा सहभागी मनोज शाह, नेहा श्रेष्ठ, भीम घिमिरेले यो तालिम फलदायी भएको भन्नुहुँदै आयोजक प्रशासन र प्रशिक्षकलाई धन्यवाद दिनुभयो ।

सिंगापुरको ह्वाइटवेज सिष्टमका प्रशिक्षक द्वय पुनित भानुशाली र शुधान्सु गुप्ताले तालिम प्रदान गर्नुभएको थियो ।
तालिममा इन्जिनियरिङ र कार्यक्रम शाखाका २८ जना सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्