‘खोप नलगाएकाहरूलाई जनप्रतिनिधिहरूले खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले आज काठमाडौँमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले खोपको पहुँच बाहिर रहेका र खोप नलगाएकाहरूलाई जनप्रतिनिधिले खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले श्रोत साधनको अधिकतम उपयोग गरी मुलुकलाई समृद्ध बनाउनेमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि कोरोना भाइरस विरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्ने र आगामी स्थानीय तह निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले यही मार्च महिना भित्रमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने तयारी भइरहेको जानकारी दिनुभयो ।
विश्वका अन्य देशको तुलनामा कोरोना भाइरस विरुद्धको खोप दिनेमा नेपाल अगाडि रहेको उल्लेख गर्नुहुँदै मन्त्री खतिवडाले आगामी चैत्र महिना भित्र १२ वर्ष माथिका सबै लक्षित समूहलाई खोप लगाइ सकिने जानकारी दिनुभयो ।
राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले जनतालाई महामारीको जोखिमबाट मुक्त गर्न जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले सीमित साधन स्रोतका बाबजुद नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रण गरेको बताउनुभयो ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख राजेश संभाजीराव पाण्डवले कोभिडका कारण हामीले आफ्नो परिवारको महत्त्व र हेरचाहमा समय दिएको बताउनुभयो ।
नेपाल प्रमुख पाण्डवले जनता सामु जनस्वास्थ्य सम्बन्धी सुरक्षाका सन्देशहरू सञ्चार गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्त्व विश्वव्यापी रुपमा बोध गरिएको उल्लेख गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा राजेश पाण्डवले कोभिड—१९ले मानिसलाई जीवन परिवर्तन गर्न सक्ने धेरै पाठ सिकाएको बताउनुभयो ।
राष्ट्रियसभाका सदस्यहरूले कोभिड–१९ महामारीका सन्दर्भमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात् देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत धारणा राख्नु भएको थियो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका वरिष्ठ परामर्शदाता सूनुर वर्मा, आपतकालिन कार्यक्रम प्रमुख डा. आलिसन गोकोटानो, सघन उपचार विशेषज्ञ डा. शीतल अधिकारी, खोप कार्यक्रम प्रमुख डा. विनोद बुरा र स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक कुमार लाल, नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रम प्रमुख डा. ग्याम्पो दोर्जी, मानसिक स्वास्थ्य मेडिकल अफिसर डा. केदार मरहठ्ठा र सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्