तपाईँ सुन्दै हुनुहुन्छः

मध्यमा मिथिला परिक्रमा भोलिबाट शुरु हुँदै

जनकपुरधाम । मिथिलाको सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्राको रुपमा रहेको मध्यमा मिथिला परिक्रमा भोलिबाट शुरु हुन लागेको छ । 

धनुषाको किथिला विहारी नगरपालिकाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट मिथिला विहारी अर्थात् भगवान् रामको डोला तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरीजी अर्थात् माता जानकीको डोला उठेर भोलि जनकपुरधामको हनुमान गढीमा पुगेर रात्रि विश्राम गर्ने चलन रहेको छ । 

बाजा गाँजासहित सहित लाखौँ धर्मावलम्बीहरू खाली खुट्टा भजन कीर्तनसहित १५ दिन लगाएर विभिन्न पडाव स्थलहरूमा रात्रि विश्राम गरेर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी तय गर्ने चलन रहेको छ । 

नेपाल भारतको लाखौँ व्यक्ति सहभागी हुने मध्यमा मिथिला परिक्रमामा सहभागी हुनका लागि विभिन्न ठाउँबाट तीर्थयात्रीहरू बन्दोबस्तीका सामानसहित आज बिहान देखि नै जनकपुरधाम आइरहनुभएको छ ।  

त्रेता युगमा राजर्षि जनकका पुत्री माता सीतासँग विवाह भएपछि मर्यादा पुरुषोत्तम श्रीराम समेत देवी देवताहरू सो मार्ग भएर विचरण गरेको धार्मिक विश्वासका साथ लाखौँ तीर्थयात्रीहरू सहभागी हुँदै आउनुभएको छ । 

कूल १५ पडाव स्थल मध्ये नेपालमा ९ वटा पडाव स्थल रहेको छ भने भारतमा ६ वटा रहेका छन् । परिक्रमाका सहभागीहरूले नेपाल तर्फ १ सय ७ किलोमिटर तथा भारततर्फ २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी तय गर्ने गरेका छन् । 

परिक्रममा सहभागी हुनाले परिवार जनको कल्याण हुनुका साथै मृत्युपछि मोक्ष प्राप्ति हुने जनविश्वासका साथ भारी सङ्ख्यामा वृद्ध, साधु सन्त, महन्त, योगी, सन्न्यासी तथा भिक्षुभिक्षुणीहरु सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button