शिवरात्रिमा सामूहिक माछा मार्ने अचम्मको संस्कार
तनहुँ । प्रत्येक बर्ष महा शिवरात्रिका दिन तनहुँको भिमाद नगरपालिका स्थित बुडुला खोलामा माछा मार्नेहरूको भिड लाग्ने गर्दछ ।
यो दिन खोलामा माछा प्रशस्तै पाइन्छ भन्ने मान्यता अनुसार विभिन्न स्थानबाट परम्परागत रुपमा माछा मार्न आउनेहरू बर्षेनी बढ्न थालेका छन् ।

शिवरात्रिमा माछा पर्छ भन्ने प्रचलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पुस्तौँदेखि शिवरात्रिमा माछा मार्ने चलन रहेको भिमाद –३ का वडाध्यक्ष भूपेन्द्रराज मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार पछिल्लो समय यो दिन माछा मार्न आउनेहरूका कारण मेलाको रुपमा परिणत हुँदै गएको छ ।
‘पहिलो जस्तो माछा त पाइँदैन ।’ उहाँले भन्नुभयो ‘खै पहिलेदेखि नै शिवरात्रिमा माछा सिउरी(पोका) परेर आउँछ भन्थेँ ।’ उहाँका अनुसार विगतमा एक पटक धेरै जना खोलामा पस्दा खोला हिलाम्मे बनेपछि माछा पाखा पाखा आएर सजिलै मार्न सकिन्थ्यो ।

मल्लले खेतमा रासायनिक मलको प्रयोग गर्नुका साथै खोलामा बम, विषादी र करेन्टको लगाइँदा माछा नष्ट हुँदै गएको बताउनुभयो । ‘आज पनि सबै जना सिउरेनी (सानो प्वाल भएको माछा मार्न प्रयोग गरिने) डोको र थकौली (बाँस र जालबाट बनेको) लिएर आएपछि म पनि एक छिन पुगेँ के को माछा पाउनु, एक छिन रमाइलो गरेर सबै फर्किए ।’ वडाध्यक्ष मल्लले भन्नुभयो ।
मङ्गलवार आज मात्र भिमाद नगरपालिकाका छेक्रेटार सहित भिमाद बजार, अठ्ठाई बस्ती, मालेबगर, माझकोट र घिरिङ्ग गाउँपालिका झन्डै तीन सय बढी माछा मार्न एकसाथ खोलामा पुगेका थिए ।







प्रतिक्रिया राख्नुहोस्