तपाईँ सुन्दै हुनुहुन्छः

दुई करोड ६० लाख लगानीको गुठिचौर–डोल्पा जोड्ने सडकको शिलान्यास 

जुम्ला । जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको शिलान्यास गरिएको छ । गुठिचौर गाउँपालिका–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माणका लागि शिलान्यास गरिएको हो ।  

जुम्ला सदरमुकाम खलङ्गाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडकमा साना सवारी गुडिरहेका छन् । डोल्पा जिल्ला सँग व्यापारिक सम्बन्ध विस्तार गर्न,ठुला सवारीको आवतजावतलाई सहज गर्नका लागि साढे २ करोड बढीको लगानीमा सडक निर्माण गर्न थालिएको हो । 

मङ्गलवार सडक निर्माण शिलान्यास गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले चालु आव भित्रै गुठिचौर–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने निर्माण सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो,“गुठिचौर देखि डोल्पा सम्म सडक निर्माणका लागि २ करोड ६० लाख बजेट विनियोजन भएको छ । सडक निमार्ण गर्न गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख कर्णाली प्रदेशको समपूरक बजेटबाट १ करोड ३० गरी २ करोड ६० लाख बजेट छुट्टाएको छ ।”

प्याकुरेबाडा–मुडुरी, गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक हिउँदको लागि निकै उपयुक्त हुने छ  । डोल्पा सडक पुराउनका लागि दुहियाभिड फोड्नु पर्ने अध्यक्ष भण्डारीको भनाई छ । गुठिचौर गाउँपालिकालाई सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको हो । 

सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारीले सडकको गुणस्तरीयता र मापदण्डको विषयमा ख्याल पुर्‍याएर काम अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । सडकको चौडाइँ, लम्बाइ र गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।  

सडक निर्माणको काम अनुसार बजेट भुक्तानी गर्ने गुठिचौरका प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटाले बताउनुभयो । यो सडक निर्माण पछि जुम्ली नागरिकलाई डोल्पा जान निकै छिटो छरितो हुने र व्यापारिक गतिविधि बढ्ने उहाँको विश्वास छ । सडक निर्माण पहिलो चरण सकिएपछि ग्राभेल तथा स्तरवृद्धिका लागि थप बजेट लगानी गर्न सङ्घ र प्रदेश सरकारलाई माग गरिने भएको छ । 

जुम्ला र डोल्पाको पूर्वी व्यापारी नाका गुठिचौर गाउँपालिका हो । जसमा सडक निर्माणले व्यापारका सामान आयत तथा निर्यात गर्न, सजिलो हुने छ । जुम्लाको जडीबुटी र स्याउ,डोल्पाको बहुमूल्य यार्सागुम्बा सहितका जडीबुटी ओसारपसार गर्न राहत पुग्नेछ । माथिल्लो कर्णालीका गुठिचौर–डोल्पा सडक बहुआयामिक हुने विश्वास गरिएको छ । 

यसका साथै गुठिचौर गाउँपालिकाका ७ वटै वडामा सडक सञ्जालको पहुँच पुगेको छ । सबै वडामा साना सवारी पुगिसकेका छन् । ठुला सवारी गुडाउनका लागि सडक स्तरवृद्धिको कामलाई समेत अघि बढाइएको गुठिचौर गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button