बालविवाह मुक्त गाउँ अभियानमा जुट्दै कनकासुन्दरीबासी

जुम्ला । कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासी बालविवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । पहिले अशिक्षाका कारण बालविवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भएपनि गाउँमा बालविवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी ४ का वडा सदस्य सिंहराज सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौ । आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालले बालविवाह मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालविवाहका असर,कानुनी सजाय,ढिलो बिहे गर्दाका फाइँदाका बारेमा तालिम दिएर सचेत बनाएको छ । बालविवाह रोक्न निगरानी समिति बनाएर प्रतिबद्ध भएर जुटेका छौ ।”
बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी–६ का लालु नेपालीले बताउनुभयो । दलित समुदायमा बालविवाह बढी भएकोले कनकासुन्दरीका दलित समुदाय नै अहिले बालविवाह रोक्न अग्रसर भएको उहाँको भनाई छ । कनकासुन्दरी गाउँपालिका वडा नं. ४, ५ र ६ का दर्जनौँ बस्तीलाई बालविवाह मुक्त बनाउन स्थानीय जुटेका छन् ।
गएको सोमबार र मङ्गलवार कनकासुन्दरीका ४, ५र ६ नम्बर वडामा बालविवाह तथा छाउपडी न्यूनीकरणका लागि अन्तर्संवाद तथा अन्तरक्रिया समेत सम्पन्न भएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेर बहादुर रोकायाले बताउनुभयो । विगतको तुलनामा छाउपडी कम भएपनि बढ्दो बालविवाहलाई रोक्न स्थानीयहरूले अभियान नै सञ्चालन गर्न प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
उहाँका अनुसार क्याड नेपालले २०१८ देखि सिञ्जा क्षेत्रका कनकासुन्दरी, सिञ्जा र हिमा गाउँपालिकामा बालविवाह न्यूनीकरण, छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । सिञ्जा क्षेत्रका दुर्गम बस्तीलाई बालविवाह मुक्त गर्ने उद्देश्यले प्लानको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा सिञ्जा क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेका छन् ।
तथ्याङ्क अनुसार जुम्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको छ । गत आवमा जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । जसमा कनकासुन्दरीका मात्रै ९० जना किशोरीले २० वर्ष नपुगी बालविवाह गरेका थिए । पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बाल विवाह बढेको हो ।
पहिले अशिक्षा, अहिले प्रविधिले बालविवाह बढ्यो
कनकासुन्दरी गाउँपालिका ६ का नरवीर सार्कीले २०५५ सालमा करिब १३/१४ वर्षकै उमेरमा पारिवारिक दबाबले बालविवाह गर्नुभयो । विवाह गरेको एक वर्षमै श्रीमती गर्भवती भइन् । श्रीमती पनि करिब १४ वर्षकी थिइन् । शारीरिक प्रजनन स्वास्थ्य परिपक्व नभएको र उमेर सानै भएका कारण सुत्केरी हुन नसकेर श्रीमतीको मृत्यु भयो । नरवीर भन्छन्,“त्यतिबेला बालविवाहको कानून पनि थिएन । शिक्षाको कुरा धेरै दूर थियो । अशिक्षा, गरिबी, अन्धविश्वासले गर्दा परिवारको दबाबमै विवाह गरे । जसका कारण श्रीमती गुमाए । भने मैले पढ्न लेख्न पाइन् ।”
अहिलेको जस्तो तालिम, कानुनका कुरा त्यतिबेला भएको भए सायद बालविवाह हुन्थेन । विगत सम्झेर ठुलो पश्चताप लाग्छ । कनकासुन्दरी ६ की धर्मा सार्कीले भन्नुभयो,“अशिक्षाकै कारण मैले १३ वर्षको उमेर विवाह गरे । अहिले ४७ वर्षकी भए । सानैमा बिहे गरेका कारण गर्वमै ३ बच्चा मरे। शिक्षाबाट पनि वञ्चित भए, शारीरिक रुपमा कच्चा भए । सबै त्यतिबेला विवाह हुनुको मुख्य कारण चेतनाको अभाव हो ।”
नरवीर र धर्मा जस्तै सयौँ महिला पुरुष अशिक्षाका कारण बालविवाह गरेर पश्चात् गरिरहेका छन् । पहिले शिक्षाको अभाव, ऐन कानून नभएका कारण बालविवाह गर्यौ । अहिले कानून छ । शिक्षाको अभाव पनि छैन । गाउँ गाउँमा तालिम चल्छन् । तर पनि बालविवाह रोकिएको छैन । कनकासुन्दरी ४ की ५६ वर्षीय छिटु सार्की भन्छन्,“अहिले बालविवाह हुनुको मुख्य कारण प्रविधिको दुरुपयोग हो । ५/६ कक्षा पढ्ने १२/१३ वर्षका बालबालिकाको हात हातमा मोबाइल छ । फोन, म्यासेज जस्ता गतिविधिले सानै उमेर विवाह गर्ने भाग्ने क्रम बढेको छ ।”
आफ्ना बालबालिका प्रति गैर जिम्मेवार अभिभावकै कारण पनि बालविवाह बढेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग,फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालबालिका बिग्रेका छन् । अझ गाउँमा काममै बढी ध्यान दिने,छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्दा बालविवाह बढेको कनकासुन्दरी गाउँपालिकाका पन्जीकरण शाखा प्रमुख दीपेन्द्र उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्