बुटिकको क्षति सरकारले हेर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताउनुभएको छ । श्रेष्ठलाई मंगलबार टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गर्नुभयो ।
श्रेष्ठसँग गृहमन्त्रीले गरेको कुराकानी उद्धृत गर्दै उहाँका प्रेस संयोजक मधुसुदन भट्टराईले भन्नुभयो, “तपाईंको क्षति सरकारले हेर्छ, सरकार तपाईंको साथमै छ, नआत्तिनुस् ।”
यसअघि आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख पुगेर उहाँको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको थियो । आइतबार एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए ।
स्थानीय प्रशासन नै आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको श्रेष्ठले बताउनुभएको छ । उहाँले अझै पनि आन्दोलनकारीले आफूलाई ‘टर्चर’ दिने गरेको बताउनुभयो । प्रजिअ गोविन्दप्रसाद रिजालले ज्यान जोखिममा राखेर प्रहरी जोगाएकामा धन्यवाद दिनुभयो । उहाँले छ प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी दिनुभयो । पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने प्रजिअ रिजालले आश्वासन दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्