उद्योग वाणिज्य महासङ्घद्वारा राष्ट्र बैङ्कको ध्यानाकर्षण
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले शेयर कर्जामा कडाइले साना लगानीकर्ता प्रभावित हुने भन्दै राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।
महासङ्घले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका सम्बन्धमा आफ्नो धारण सार्वजनिक गर्दै उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगिकीकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने औँल्याएको छ ।
कर्जाको ब्याजदर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पूँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको महासङ्घले उल्लेख गरेको छ । बढ्दो आयात निरुत्साहित गर्न मौद्रिक नीति केन्द्रित हुँदा यसले उत्पादन, मूल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्छ भन्दै महासङ्घले राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।
निर्यात प्रवर्द्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरी आयात घटाउने उपाय अवलम्बन गरिदा यसले अनधिकृत व्यापार बढ्नुका साथै मूल्य समेत अकासिने अवस्था सृजना हुने महासङ्घले विज्ञप्तिमा भनेको छ ।








प्रतिक्रिया राख्नुहोस्