घरघरमा नै धारो जडान भएपछि इन्द्रावतीका स्थानीय खुशी

सिन्धुपाल्चोक । बिहान झिसमिसेमा नै गाग्री बोकेर झण्डै दुई घण्टा पैदल हिँडेर कुवाको पानी भर्नु साइली तामाङको दैनिकी नै बनी सकेको थियो । एक गाग्रो पानीकै लागि घण्टौैं समय खेर फाल्नु परेपछि तामाङलाई घरको अन्य कामधन्धा गर्न समय नै हुँदैन थियो तर गएको मङ्सिरको पहिलो हप्ताबाट आफ्नै घरमा धारा जडान भएपछि भने पानीकै लागि खर्चँदै आएको समय उहाँले घरको अन्य धन्धा र आयआर्जनका लागि सदुपयोग गर्न पाउनु भएको छ ।
साइँली तामाङ मात्र होइन, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका सिपापोखरे र हेमजिर बस्तीका स्थानीयहरू पानीकै समस्याले वर्षौँदेखि यसरी नै पिरोल्दै आएका थिए । एक त घरबाट टाढा रहेको कुवा र खोलाबाट पानी ल्याउन नै घण्टौँ समय लाग्ने अर्को जस्तो पायो त्यस्तै पानी भर्नु पर्ने बाध्यताले स्थानीयहरू हैरानमा थिए ।
अहिले घर घरमा नै धारा निर्माण भएपछि भने यहाँका स्थानीयहरूले राहतको महसुस मात्र गरेका छैनन् सफा र स्वच्छ पानी प्रयोग गर्न पाएकोमा पनि खुशी भएका छन् । “हिजोसम्म घण्टौँ पैदल हिँडेर पानी ल्याउनु पर्ने बाध्यता आज छैन” स्थानीय प्रकृति तामाङले भन्नु भयो – “हामीले स्वच्छ र सफा खानेपानीको प्रयोग गर्न पाएकोमा खुशी छौँ”।
हुन पनि धारा निर्माण हुनुपूर्व कुवा र खोलाको पानी भर्नु पर्ने बाध्यता यहाँका स्थानीयहरूमा थियो । कुवामा कहिले कुकुरले फोहर गरिदिने, कहिले केटाकेटीहरूले खेलेर फोहर गरिदिने र त्यस्तै पानी भर्नु पर्ने बाध्यताबाट आजित भएकी साइँली तामाङ घरमा नै सफा र स्वच्छ पानी झर्न थालेपछि दङ्ग हुनु हुन्छ ।
वडा कार्यालय र सेवक नेपाल नामक गैर सरकारी संस्थाको पहलमा करिब नौ लाख रुपैयाँमा निर्माण भएको खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ । हिजो जस्तै घण्टौँ लगाएर पानी लिन कुवा र खोला धाउनु पर्ने बाध्यता हटेपछि यहाँका स्थानीयहरू घरको कामधन्धामा व्यस्त हुने गरेका छन् । मेलापात जाने, सीपमूलक काम गर्ने मात्र हैन खेर गएको पानीलाई करेसाबारीमा लगाएर तरकारी उत्पादन समेत गर्दै आइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्