राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका ४७८ विद्यालय छनोट

जुम्ला । कर्णाली प्रदेशका चार सय ७८ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुने भएको छ ।
चालु आवमा कर्णालीका १० जिल्लाका चार सय ७८ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु हुने भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ वटा सामुदायिक विद्यालय छनोट भएका छन् । जसमध्ये कर्णाली प्रदेशका ४ सय ७८ विद्यालय छनोटमा परेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम प्रक्रिया पुरा गरेर सामुदायिक विद्यालय मात्रै कार्यक्रमका छनोट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा जारी पत्रमा उल्लेखित छ ।
कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा २ कोठे,४ कोठे भवन निर्माण,आइसिटी व्यवस्थापन,प्राविधिक ल्याब स्थापना र नयाँ प्राविधिक विद्यालय सञ्चालन हुने भएको छ । त्यसका लागि न्यूनतम १० लाख देखि अधिकतम ३० लाख सम्म बजेट विनियोजन भएको छ ।
छनोट भएका कर्णाली प्रदेशका ४ सय ७८ वटा विद्यालय मध्य १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८ विद्यालय दुई कोठे भवन, २ सय २५ विद्यालयमा आइसिटी ल्याब, २ वटा विद्यालयमा प्राविधिक ल्याब २ र २ विद्यालयमा नयाँ प्राविधिक विद्यालय स्थापना हुने भएको छ ।
कुन जिल्लाका कति विद्यालय छनोट ?कर्णाली प्रदेशका १० जिल्लाका ४ सय ७८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । जसमा जुम्लाका ४३ वटा विद्यालय मात्रै छनोट भएका छन् ।
झन्डै १ सय ७० वटा सामुदायिक विद्यालय रहेको जुम्लामा ४३ वटा मात्रै विद्यालय छनोट भएका हुन् ।
विद्यार्थी चाप बढी भएको, सबै प्रक्रिया पुर्याएको र पालिकाकै ठुलो विद्यालय कार्यक्रमका लागि छनोट नभएको हिमशिखर मावि तातोपानीका प्रधानाध्यापक धनबहादुर रोकायाले गुनासो गर्नुभयो ।
यता कर्णाली मावि अनामनगरका प्रधानाध्यापक मिनराज शर्माले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयको भौतिक संरचना अभावको समस्या टर्ने र पठनपाठनमा सहज हुने बताउनुभयो ।
आफ्नो विद्यालय छनोट हुँदा खुसी व्यक्त गर्दै उहाँले कार्यक्रमको उद्देश्य अनुसार शैक्षिक उपलब्धि देखाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै, सबैभन्दा बढी सुर्खेतमा ६० विद्यालय र सबैभन्दा कम मुगु जिल्लामा २४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । भने दैलेखका ६५, जाजरकोटका ५१, रुकुम पश्चिमका ५८, सल्यानका ५८, कालिकोटका ५३, डोल्पाका २७ र हुम्लाका ३९ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रम लागु भएका विद्यालयहरूका लागि सम्बन्धित विद्यालयको स्थानीय तहमा वित्तीय हस्तान्तरण समेत भइसकेको छ ।
कामको गुणस्तर र कार्यविधि अनुसार काम भए नभएको अनुगमन निरीक्षण पश्चात् मात्रै स्थानीय तहले रकम भुक्तानी गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्