श्रमिकका लागि छुट्टै अस्पताल निर्माण गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले श्रमिकका लागि छुट्टै अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।
मन्त्री कार्कीले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर अर्थात् करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम सन् २०२१–२४ कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा गोविन्द मगरले पन्छी पालेको स्थान र चितवनको राप्ती नगरपालिका वडा नं. ६ मा रहेको अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी त्यस वरपरको सय मिटर सम्मको क्षेत्रलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलको राजीनामा स्वीकृत गर्ने, नेपाल धितो पत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गर्ने, नेपाल बन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को अनुसूची १ हेरफेर गर्ने, नेपाल मेडिकल काउन्सिल पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक:








प्रतिक्रिया राख्नुहोस्