मकवानपुरगढीमा कोदो र फापरको परिकारका प्रदर्शनी
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आइतबार रैथाने बाली कोदो र फापरको परिकारको प्रदर्शनी आयोजना गरेको छ ।
गत बिहीबारबाट गाउँपालिकामा आयोजित तीन दिने तालिम पश्चात् तयार पारिएको परिकारहरूको आइतबार प्रदर्शनी गरिएको हो ।
आइतबार गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईँले कोदोबाट बनेको केक काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष हुमागाईँले गाउँमा उत्पादन हुने खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि यस्ता खाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

स्वास्थ्यका दृष्टिकोणले पनि रैथाने बालीको निकै महत्त्व रहेको हुँदा किसानलाई त्यसतर्फ आकर्षित गर्ने योजना रहेको उहाँको भनाई छ । उहाँले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि हुने हुँदा गाउँपालिकाले त्यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने र कृषि तथा पर्यटनको विकासमा काम गरेको बताउनुभयो ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिंजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ थरिका परिकार बनाउन सिकाइएको थियो ।
नेपाल कृषि अनुसन्धान परिषद्का खाद्य प्राविधिक प्रवीण ओझाले सहजीकरण गर्नुभएको तालिममा गाउँपालिकाका सबै वडाका होटेल, होमस्टे, खाजा घरका सञ्चालक र कृषि प्राविधिकहरूको सहभागिता थियो ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकाका करिब तीन सय हेक्टर जमिनमा कोदो उत्पादन हुने र विशेष गरी वडा नम्बर ४ कोदोको लागि पकेट क्षेत्र रहेको बताउनुभयो ।
प्रदर्शनीमा वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडाध्यक्ष टिका प्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी लगायतको उपस्थित थियो ।








प्रतिक्रिया राख्नुहोस्