कामु प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश कार्की
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ ।
सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता गराएपछि उहाँ स्वतः कायममुकायम प्रधानन्यायाधीश हुनुभएको हो ।
महाभियोग प्रस्तावको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ सांसद रहनुभएको छ ।
नेपालको संविधानको धारा, १०१ को उपधारा(२) बमोजिम महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लङ्घन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधिसभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेस गरेमा धारा, १०१ को उपधारा, (३) बमोजिमको समितिले त्यस्तो उजुरीमाथि सङ्घीय कानुनबमोजिम छानबिन गरी महाभियोगसम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभासमक्ष सिफारिस गरेमा महाभियोगको प्रस्ताव पेस हुन सक्नेछ ।








प्रतिक्रिया राख्नुहोस्