फागुन १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौँ । ओमिक्रोन संक्रमण समुदाय स्तरमा फैलिएपछि बन्द गरिएका विद्यालयहरू फागुन १ गतेदेखि पुनः भौतिक उपस्थितिमै सञ्चालन हुने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएपछि विद्यार्थीहरूले एक महिनापछि पुनः कक्षा कोठामै उपस्थित भएर पढ्न पाउने भएका हुन् ।
कोरोना संक्रमण दर घट्दै गएपछि वैकल्पिक माध्यमबाट पढाइ गर्दै आएका विद्यालयहरूले पुनः भौतिक रूपमै कक्षा सञ्चालन तयारी गरिरहेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले यसअघि नै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्न निर्देशन गरेको छ ।
यस अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका अधिकांश विद्यार्थीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । खोप लगाएका विद्यार्थीहरूमा कोरोनाको जोखिम न्यून हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
स्वास्थ्यविद्हरूले खोप लगाउन बाँकी उमेर समूहका विद्यार्थीले पनि सही तरिकाले मास्क लगाउने र साबुन पानीले हात धुने गरेमा सुरक्षित रहन सकिने बताउँदै आएका छन् ।
अहिलेको अवस्थामा विद्यार्थीहरूमा कोरोनाको ठूलो जोखिम नरहेको बताउँदै राम्रो व्यवस्थापनमा विद्यालय सुचारु गर्न डर मान्न नपर्ने बताउनुहुन्छ सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । उहाँ बालबालिकाले सही तरिकाबाट मास्क लगाउने र साबुन पानीले हात धुने गरेमा कोरोना नसर्ने बताउनुहुन्छ ।
बिहीबार सम्मको अवधिमा ११ वर्षदेखि १७ वर्ष सम्मका ८४ प्रतिशत बालबालिकाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ३८ प्रतिशत बालबालिकाले दुवै मात्रा खोप लगाएका छन् ।
त्यसो त १२ देखि १८ वर्ष उमेर समूहका एक करोड १७ लाख बालबालिका रहेका छन् । त्यसमा पनि ३० देखि ३५ लाख बालबालिका खोप लगाउने उमेर समूहमा पर्दछन् ।
१२ वर्ष उमेर नपुगेर खोप लगाउन नपाएका बालबालिकाको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्न भनिएको छ । विद्यालयहरूले पनि झन्डै डेढ महिनापछि भौतिक कक्षा सञ्चालनको आ–आफ्नो हिसाबले तयारी गरिरहेका छन् ।
काठमाडौँको डिल्लीबजारस्थित विजय स्मारक माविले पनि खोप लगाइसकेका विद्यार्थीलाई नियमित र खोप नलगाएका तल्लो कक्षाका विद्यार्थीलाई एक दिन आधा सङ्ख्या र अर्को दिन आधा गरेर पढाई सुचारु गर्न लागेको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले साना बालबालिकालाई खाजा र तातो पानी घरबाटै ल्याउन सूचना गरेको बताउनुभयो ।
विद्यार्थीहरू स्वभावैले पनि चन्चले हुन्छन् । उनीहरूलाई सही तरिकाबाट मास्क लगाउन सिकाउने, साबुन पानीले हात धुन सम्झाउने हो भने विद्यालयमा कोरोनाको ठूलो जोखिमबाट टाढा रहन सक्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्