विकास बजेट खर्च हुन नसक्नुमा कानूनी एवं संरचनागत समस्या : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कानूनी एवं संरचनागत समस्याका कारण बजेटमा व्यवस्था भए बमोजिमको विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री शर्माले जग्गा प्राप्ति तथा स्रोत नै उपलब्ध नभएको आयोजना राख्ने प्रवृत्तिका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुन नसकिरहेको बताउनुभयो ।
योजनाको छनोटदेखि नै समस्या रहेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक प्रभाव र दबाबमा राखिएका आयोजनाको पूर्वतयारमा नै लामो समय लागेकाले पनि अपेक्षित प्रगति हुन नसकेको स्पष्ट पार्नुभयो ।
दक्ष जनशक्तिको अभाव तथा आयोजनामा जिम्मेवारी लिएकाले इमान्दार प्रयास नगरेको तथा गरेकाले समेत दण्डित हुनुपर्ने अवस्था रहेकाले पुँजीगत खर्चमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताउनभयो ।

उहाँले प्रक्रियागत झन्झट तथा फाइल घुमिरहने प्रवृत्तिको सुधारका लागि अनलाइन प्रणाली सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आउने क्रममा रहेको बताउनुभयो ।
पूर्ण रूपमा बजेट खर्च नहुने उल्लेख गर्दै अर्थमन्त्री शर्माले कूल विनियोजित बजेटमध्ये १५ खर्ब ४६ अर्ब बराबरको खर्च हुने संशोधित अनुमान प्रस्तुत गर्नुभयो । अर्थमन्त्री शर्माले निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको र निर्वाचन समयमै सम्पन्न गरिने बताउनुभयो ।
गत असोजमा प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले बजेटको आकार रु १६ खर्ब ३२ अर्ब बराबरको तय गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्