तपाईँ सुन्दै हुनुहुन्छः

भारी हिमपातले जुम्ला–मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण प्रभावित   

जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण क्षेत्र तल्लो गुठिचौरमा जमेको हिउँ, तस्बिर : सागर परियार ।

जुम्ला । कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले यहाँका विकास निर्माणका कार्य प्रभावित भएका छन् । बाक्लो हिउँ जमेपछि अन्तरजिल्ला र अन्तरपालिका जोड्ने ठुला सडक निर्माण आयोजनाहरू प्रभावित भएका हुन् । कर्णालीमा मङ्सिर लागेसँगै चिसोले विकास निर्माण ठप्प हुने र पुस माघमा भारी हिमपातपछि विकासे काम पछि धकेलिने समस्या छ । मौसम प्रतिकुलका कारण कर्णालीका अधिकांश योजना सम्झौता अनुसार काम सम्पन्न गर्न मुस्किल हुने गरेको छ ।  

यसैबीच गएको माघ तेस्रो साता लगातार दुई दिन भएको भारी हिमपातले जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण आयोजना प्रभावित भएको छ । चालु आवको असार मसान्तसम्म जुम्ला हुँदै डोल्पाको मौरेलेक सम्म ४४ किलो मिटर सडक निर्माण सक्ने सम्झौता भएपनि हिमपातले सडक निर्माणमा ढिलाइ हुने देखिएको छ । 

दुई वटा ठेक्का मार्फत जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण भइरहेको छ । सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारी भन्छन्,“जिरो देखि १० किमी सम्म (कास्यम निर्माण सेवा) र २२ देखि ४० किमी डोल्पा मौरेलेक सम्म अर्घाखाँची महेश जेभी कम्पन्नीले निर्माण गरिरहेको छ । भने बीचको १५ किमी सडक पूर्वाधार कार्यालयले निर्माण गरेको छ ।”

हाल सम्म जिरोदेखि १० किमी सम्मको ३० प्रतिशत र २२ देखि ४० किमी सम्मको १५ प्रतिशत मात्रै सडक निर्माणको काम भएको छ । चालु आवको असार मसान्तसम्म काम सम्पन्न गर्ने दुवै फेजको ठेक्का सम्झौता छ । निमित्त प्रमुख भण्डारीले भन्नुभयो,“जिरोदेखि १० किमी सम्मको सडक निर्माण निर्धारित समयमै सकिने देखिन्छ । २२ देखि ४० किमी सडक चालु आवमै सक्ने लक्ष्य भएपनि मौसम प्रतिकुलका कारण सम्भावना छैन । झण्डै ४ फिट हिउँ जमेको छ । हिउँ पग्लिन चैत अन्तिम सम्म लाग्छ । निर्माण व्यवसायी फागुनबाटै काम शुरु गर्न तयार छन् । तर हिमपातले काम बढाउने स्थिति छैन ।”

कात्तिकदेखि दुवै फेजको कतै ट्र्याक खोल्ने र स्तरवृद्धि गर्ने काम शुरु भएको थियो । तर पुस दोस्रो साता र अन्तिम साता आएको हिउँले रोकिएको काम माघ अन्तिमबाट शुरु गर्ने तयारी भएपनि तेस्रो पटक भएको भारी हिमपातले सडक निर्माण झण्डै दुई महिना धकेलिएको छ । 

चालु आवमा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माणका लागि २० करोड बजेट विनियोजन भएको छ । सडक निर्माण क्षेत्र जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै उच्च हिमाली क्षेत्र मणिसाँघु चोत्रा देखि डोल्पा तर्फ भएकोले बाक्लो हिउँ जमेपछि आवतजावतमै समस्या भएकोले सडक निर्माण समेत प्रभावित भएको सडक डिभिजन जुम्लाका सब–इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार हिउँ पग्लिने बित्तिकै निर्माण कार्य अघि बढ्ने छ । 

चालू आवमा सडक डिभिजन जुम्लाले जुम्ला–मनाङ–मुस्ताङ सडकको १५ किमी सडक ग्राभेल गर्ने भएको छ । भने बाँकी खण्ड स्तरवृद्धि तथा नाला निर्माण गर्ने स्टमेट छ । जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्नका लागि सडक डिभिजन जुम्लाले डोल्पाको मौरेलेक सम्म निर्माण गर्ने छ । 

त्यसपछि मनाङ–मुस्ताङतर्फ रुकुम सडक डिभिजन चौरजहारीले निर्माण गर्नेछ । जसमा चालू आवमा सडक डिभिजन रुकुम चौरजहारीलाई सङ्घीय सरकारबाट पाँच करोड विनियोजन भएको छ ।

सडक डिभिजन रुकुमले बागलुङ जिल्लाको सीमा सम्म सडक निर्माण गरी छोड्ने र बागलुङ जिल्लाले सिधै मनाङ–मुस्ताङ जोड्ने गरी सडक निर्माण गर्ने सडक विभागको योजना छ । लागि बागलुङ सडक डिभिजनलाई चालू आवमा १० करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button