महाकाली नदीको चार लेनको पुल निर्माणको काम ठप्प

कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीको चार लेनको पुल निर्माणको काम ठप्प भएको छ । स्थानीयको विरोध र निर्माण कम्पनीको लापरबाहीले पुल, सडक र तटबन्ध निर्माणको काम ठप्प भएको हो । ८ सय मिटर लामो चार लेनको पुल निर्माणसँगै ७ दशमलव ८ किलोमिटर लम्बाइको ६ लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता कञ्चनपुरको कुमार सीएफईसी जेभीसँग गरिएको छ ।
२०७४ भदौ ७ गते निर्माण सम्झौता भएर २०७८ फागुन १५ गते निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पुल, पहुँच मार्गसँगै महाकाली नदीमा तटबन्ध गर्नभन्दै दोस्रो पटक भेरिएसन अर्डर अनुसार ३ अर्ब ६६ करोडको लागतमा काम फागुन १५ भित्रै सक्नुपर्ने भए पनि पुस मसान्तसम्म ७५ प्रतिशत मात्रै वित्तीय प्रगति भएको योजना कार्यालयले जनाएको छ ।
गत कार्तिकमा आएको बाढीले निर्माण गरिएको सडक भत्काएर महाकाली नदीको बाढी बस्तीमा पसेको भन्दै बर्षात लाग्नु अगावै भत्किएको सडक बनाउनुपर्ने तथा महाकाली नदी र भुजेला खोलामा तटबन्ध गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
नदी तटबन्ध गर्ने काम समयमै सक्नु पर्ने माग राखेर स्थानीय आन्दोलित भएको भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवाले बताउनुभयो । ’कार्तिकमा आएको बाढीले सडक भत्काएको थियो । हामीले सडक मर्मतसँगै तटबन्ध यथाशीघ्र निर्माण हुनुपर्ने माग गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ’निर्माण कम्पनी र योजना कार्यालयले गरेको ढिलासुस्तीले गर्दा बर्सातमा दुई वडा डुबानमा पर्ने चिन्ता स्थानीयले गरेका छन् ।’
महाकाली नदीको ऐरीघाटदेखि नयाँ पुलसम्मको भीमदत्त नगरपालिकाको क्षेत्रमा २ हजार ६ सय २६ मिटर र दोधारा–चाँदनीतर्फ २ हजार ६ सय ११ मिटर तटबन्ध गर्नुपर्ने योजना रहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्