तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतीय दौडको उपाधि सुमन र छेन्वीलाई

कास्की । छैटौँ संस्करणको अर्मला पर्वतीय दौडको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिला तर्फ छेन्वी माया राईले हात पार्नु भएको छ । 

पोखरा–१६ स्थित रमणीय पर्यटकीय गाउँ अर्मलामा श्रीपञ्चमीको अवसरमा अर्मला कोट युवा क्लबद्वारा आयोजित उक्त दौड सोलुखुम्बुका सुमनले र धरानकी छेन्वीले जित्नु भएको हो । पुरुषतर्फको १२ किमी दौड ५० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै सुमनले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्नु भएको छ भने छेन्वीले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । उहाँले उक्त दौड १ घण्टा ७ मिनेट ५३ सेकेण्डमा पुरा गर्नु भएको थियो ।

त्यस्तै पुरुषतर्फ नै बैतडीका मोहन देव जोशी ५२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोश्रो स्थान प्राप्त गरी नगद १५ हजार, सिन्धुलीका जितेन्द्र दनुवारले ५३ मिनेट ३० सेकेण्डमा पुरा गर्दै तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो । उहाँले नगद १० हजार प्राप्त गर्नुभएको छ भने धरानका मोहन कुमार राई सान्त्वना हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्नु भएको छ । 

महिलातर्फकी दोश्रो हुने पोखरा १६ की सङ्गीता विकले उक्त दुरी १ घण्टा २२ मिनेट ३ सेकेण्डमा पुरा गर्दै नगद ८ हजार, तेस्रो स्थान प्राप्त गर्ने स्याङ्जा टक्सारकी रिता गुरुङले १ घण्टा २४ मिनेट १९ सेकेण्ड र पोखरा २५ हेमजाकी ओम माया फगामीले १ घण्टा २६ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै सान्त्वना स्थान प्राप्त गर्नुभयो । उहाँहरूले जनही क्रमशः नगद रु ५ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष हरि बरुवालले जानकारी दिनुभयो ।

त्यसै गरी प्रतियोगिता अन्तर्गत नै भएको वडा नं १६ तर्फको इभेन्टमा परुषतर्फ साजन विक, प्रकाश राई, राजकुमार क्षेत्री र अजय गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुँदै क्रमशः नगद रु ८, ५, ३ र २ हजार हात पारे भने महिलातर्फ कोमली खड्का र अस्मिता नेपाली प्रथम र द्वितीय हुँदै क्रमशः नगद रु ८ हजार र ५ हजार प्राप्त गर्नु भएको छ ।

प्रतियोगिता अन्तर्गत भएको सिनियर ठेलोतर्फ पोखरा १६ का सुरज गुरुङले १७.५५ फाल्दै प्रथम हुनु भएको छ । विजेता सुरजलाई नगद ५ हजार सहित परम्परा अनुसार फेटा लगाएर सम्मान गरिएको थियो ।

विजेता खेलाडीहरूलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button