तपाईँ सुन्दै हुनुहुन्छः

हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्नेछौंः स्वास्थ्य मन्त्री लामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शैयाको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबिच बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री लामाले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । बाग्मती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रुपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयो । केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारको ५ करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा १५ शैया र ३९ कोठा छन् ।

अस्पतालमा दुई एमबिबिएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button