तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगा नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकविहीन

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका गत २ महिनादेखि प्रमुख प्रशासकविहीन बनेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मङ्सिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकविहीन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पूर्ण रुपमा बन्द भएको छ । विकासे लगायत अन्य योजनाहरूको काम समेत प्रभावित भएको छ । शिक्षकहरूले ४ महिनादेखि तलब खान पाएका छैनन्, कर्मचारीले तलब खान पाएका छैनन् । साथै, नगरपालिकाको काम पनि लथालिङ्ग भएको कर्मचारीहरूको भनाइ छ ।

बुढिगंगा नगरपालिकामा अहिले मात्र नभई प्रायजसो प्रमुख प्रशासकीय अधिकृतविहीन हुने गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले सिफारिस नगर्ने, सङ्घबाट खासै आउनै नमान्ने भएकाले नगरपालिकामा सधैँ समस्या हुने गरेको एक कर्मचारी बताउँछन् ।

नगरप्रमुख दिपक विक्रम शाहले भने कार्यकारीका लागि मन्त्रालयमा पहल भइरहेको बताउनुभयो । चाँडै कार्यकारीको व्यवस्थापन गरेर नगरपालिकाको काम अघि बढ्ने शाहको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button