हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध, हिउँ पन्छ्याउने काम हुँदै

जुम्ला । कर्णालीमा पुनः तेस्रो पटक वर्षासहित भारी हिमपात भएको छ ।
बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ ।
नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै २ फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो ।
“जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा एक दिनभित्र सडक सुचारु हुनसक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।” उहाँले भन्नुभयो ।
बोतादेखि पिनासम्म उकालोमा झन्डै ७ वटा मोड भएकोले हिउँ पन्छाए पनि गाडी चिप्लिने सम्भावना छ । त्यसैले पूर्ण रुपमा सडक सञ्चालनमा आउन झन्डै एक हप्ता लाग्ने सक्ने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।
सडक डिभिजन जुम्लाले मेसिन प्रयोग गरेर सडक खुलाउन हिउँ पन्छाउने काम जारी रहेको जनाएको छ ।
त्यस्तै, जुम्ला हुँदै मुगु रारा ताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । साथै, जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडकहरू पनि हिमपातले अवरुद्ध भएका छन् ।
कर्णाली राजमार्गको त्रिवेणी हुँदै ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक, जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जोड्ने सडक लगायतका दर्जनाँै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
सडक अवरुद्ध हुँदा सुत्केरी बिरामीलाई अस्पताल ल्याउन समेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका २ का क्षेत्र बुढाले बताउनुभयो ।
उता बिहीबार हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार राती देखिनै सञ्चालनमा आएको छ ।
जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् । भने कालिकोटको पिलि र बिर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
जुम्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।
।








प्रतिक्रिया राख्नुहोस्