तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

डडेलधुरा । बिहीबार साँझदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सुचारु भएको छ ।

सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बीचबाटोमा अलपत्र परेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा साँझ ५ बजेबाट राजमार्ग सुचारु भएको हो ।

झन्डै ६०/७० जनाको सुरक्षा टोलीले हिमपात हटाएर बाटो सुचारु भएपछि सयौँ सवारी साधनहरू आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

बाटो सुचारु भए पनि हिमपातका कारण सडक चिप्लो भएकाले सावधानीपूर्वक सवारी चलाउन आग्रह गरिएको चन्दले जानकारी दिनुभयो ।

हिमपातसँगै सेताम्मे भएका डाँडा पाखामा हिउँसँग रमाउने युवायुवतीहरूको सडकमा लाम छ । हिमपातले जनजीवन कष्टकर भए पनि कृषकहरू भने खेतीपाती राम्रो हुने भन्दै हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button