तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु   

बीरगंज । वीरगंजको नारायणी अस्पतालमा उपचारत एक जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा रौतहट जिल्लास्थित दिपही माधवनारायण  नगरपालिका वडा नम्बर–१  निवासी ७० वर्षीय पुरुष रहेका छन् । 

माघ १९ गते कोरोना संक्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या आएपछि शुक्रवार नारायणी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान ११ः०० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायणी सिंहले जानकारी दिनुभयो । 

यता वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा  ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगञ्जस्थित नारायणी अस्पतालले सार्वजनिक गरेको पिसिआर परीक्षणको रिर्पोट अनुसार २७ जनाको स्वाब परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सिंहले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरूमा ५ जना पुरुष र ३ जना महिला रहेका छन् । सङ्क्रमितहरूको उमेर समूह १ वर्षदेखि ८० वर्षसम्म रहेको डा.सिंहले बताउनुभयो । 

हाल नारायणी अस्पतालमा १३ जना संक्रमित भर्ना रहेकोमा ४ जनालाई भेन्टिलेटर सपोर्टमा राखिएको छ भने अन्य ९ जना आइसियु कक्षमा रहेका छन् । 

पर्सामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहे पनि सङ्क्रमितमध्ये गम्भीर प्रकृतिका बिरामी भने बढ्दो क्रममा रहेको अस्पतालका कोभिड संयोजक डा.सिंहले बताउनुभयो । 

नारायणी अस्पतालमा दुई साता यता ९ जनाको मृत्यु भएको छ  । 

पर्सामा हाल ३ सय ९२ भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा भर्ना भएका बाहेक ३ सय ८० भन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button