चितवन राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु प्रभावितलाई डेढ करोड बढी राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावितलाई निकुञ्जले क्षतिपूर्ति बापत डेढ करोड बढी राहत वितरण गरेको छ ।
कार्यालयले मानवीय तथा भौतिक क्षति गरी चालु आर्थिक वर्ष ०७८।७९को पुस महिनासम्ममा १ करोड ५५ लाख ७५ हजार २ सय ६४ रुपैयाँ रकम राहत वितरण गरेको हो । कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते, सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घर गोठको क्षति र अन्नबाली क्षति बापत उक्त राहत रकम वितरण गर्दै आएको छ ।
राहत वितरण रकम मध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुस महिनामा १ करोड राहत रकम वितरण गरेको छ ।
यस्तै सख्त घाइते भएकालाई २० लाख २३ हजार ३०२ रुपैयाँ, सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयाँ र पशुधनको क्षति बापत १० लाख ७८ हजार २० रुपैयाँ राहत रकम वितरण गरेको कार्यालयले जानकारी दिएको छ ।
वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार खर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनु भयो । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानव बस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ, उहाँले भन्नुभयो, यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ति र राहत दिँदैन ।’
यस्तै पुससम्ममा वन्यजन्तुले मानव बस्तीमा भण्डारण गरेको अन्न क्षति गरे बापत ३५ हजार ४४० रुपैंया, घरगोठ क्षति गरेबापत १ लाख १७ हजार ३०० रुपैयाँ र अन्नबालीको क्षति गरे बापत १९ लाख ८३ हजार १०० रुपैंया राहत रकम वितरण गरिएको छ । ६ महिनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ वटा क्षति गरेका थिए ।
कार्यालयका सूचना अधिकारी तिवारीले राहत वितरण सिफारिस समितिले पेश गरेको क्षतिको विवरण, घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताउनुभयो । यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिई सक्नुपर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्