तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको मिति तत्काल घोषणा गराउन दबाब दिने एमालेको निर्णय

भक्तपुर । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गराउन सरकारलाई दबाब दिने भएको छ ।

आज भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दबाबका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसअघि जन सङ्गठनहरूले निर्वाचन मिति तोक्न दबाबमूलक कार्यक्रम गरिरहेको भन्दै एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति भोलिसम्म नतोके दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीले नै अब दबाबमूलक कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने भएको छ । सचिवालय बैठकले निर्वाचनमा अन्तर्घात गर्नेहरूको छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।

प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

महिला, युवा, विद्यार्थी र किसान महासङ्घ बाहेकका अन्य जन सङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

बैठकले पार्टीको नियमावली, जन सङ्गठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।

बैठकले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको बताउँदै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

पार्टी सदस्यता सम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ ।

सचिवालय बैठकले केही दिनअघि पार्टी छोडेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्कासन गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले रौतहट र पर्सामा जिल्ला अधिवेशनका क्रममा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button