पत्रकारहरूको बिमासम्बन्धी मापदण्ड बनाउन समिति गठन
जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारहरूको स्वास्थ्य बिमा गर्ने भएपछि सोको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ ।
प्राधिकरणले पत्रकारहरूको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारबालाहरुसँग हिजो छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको प्राधिकरणले जनाएको छ ।

समितिका सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, मधेस प्रदेशका आठ वटा जिल्लाका नेपाल पत्रकार महासङ्घ अध्यक्षहरू वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक संघका प्रतिनिधि, व्यावसायिक रेडियोका प्रतिनिधि, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई जना वरिष्ठ पत्रकारलाई राखिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारहरूको रु.७ लाखको स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ ।

स्वास्थ्यसँगै पत्रकारहरूको दुर्घटना बिमा पनि हुने भएको छ । पत्रकार अस्वस्थ भएमा या दुर्घटना भएमा उपचारमा खर्च भएको १ लाखसम्मको बिमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु. ७ लाख प्रदान गरिने गरी बिमा गर्ने पक्षमा मधेस प्रदेशका आम सञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
हिजो मात्र प्रदेशभरिका पत्रकार संस्थाका अध्यक्षहरूको सहभागिता तथा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसादको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्