तपाईँ सुन्दै हुनुहुन्छः

झापाबाट  ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

भद्रपुर, झापा। झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ ।

भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपाल नामक संस्थाले जिल्लाका विभिन्न ठाउँमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाइराखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका– ७ स्थित गैरी गाउँबाट मङ्गलवार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रवक्ता तथा डिएसपी प्रेम भण्डारीले जानकारी दिनुभयो ।

बरामद गरिएको विस्फोटक पदार्थमा इलेकट्रोनिक्स डेटोनेटर ८० थान र नेपो लाइट ९१ थान छ । नेपो लाइट हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

विस्फोटक पदार्थ कसले, के प्रयोजनका लागि ल्याउन खोजेको हो भन्ने विषयमा नेपाल प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनुभयो । 

केही दिनअघि भूमिगत समूह परिषद्ले दमक नगरपालिका–५ स्थित हरिओम् कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुदजस्तो धुलो (इआडी) र बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा कुकर बम राखेर आतङ्क मच्चाएको थियो । 

बम राखेर आतङ्क मच्चाउने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button