तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र कानूनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

File Photo

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानूनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ । 

गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । युनियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुन विपरीतका कार्य भइरहेको भन्दै कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

“सरकारको दायित्व संविधान र कानूनको पालना गर्नु हो,’ गृहमन्त्री खाँणले भन्नुभयो, “कानुन विपरीतका काम गर्नेलाई कारबाही हुन्छ, त्यसमा हामी अनुसन्धान गरिरहेका छौँ”, मन्त्री खाँणले भन्नुभयो ।

उहाँले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताउनुभयो । युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानुन अनुरूपको कारबाहीको माग गरेको थियो । 

डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डित लगायतमाथि भएको दुव्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button