बेमौसमी वर्षाका कारण जुम्लामा धानको बिउ अभाव, किसान अझै राहतको प्रतीक्षामा

जुम्ला । जुम्लामा गएको असोज ३१ देखि कात्तिक २ गते सम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीले १ हजार २ सय १२ जना किसानको मार्सी धान बालीमा क्षति गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले सङ्कलन गरेको तथ्याङ्क अनुसार बाढीबाट प्रभावित यहाँका तिला र तातोपानीका १ हजार २ सय १२ जना किसानको धानबाली नष्ट भएको खुलेको हो ।
बाढीले कतै मार्सी फाँट डुबानमा परेका थिए । भने, कतै काटेर खेतमा सुकाउन राखेका धान बगाएको थियो । मार्सीधान फलेको तिला र तातोपानीको गरी १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको थियो । जसमध्ये तातोपानी गाउँपालिकाको विभिन्न वडाको ५ हेक्टर र तिला गाउँपालिकाको ३ र ४ नम्बर वडाका १३ हेक्टर बगर बनेको हो ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी तिला गाउँपालिका वडा नं. ४ का ५ सय ८३ जना किसानको धानबाली नष्ट भएको छ । भने, तिला ३ कै ७२ जना किसानको धानमा क्षति भएको छ ।
त्यस्तै, तातोपानी गाउँपालिका वडा नंं १ बाइराँका गाउँका २९ जना,१ नम्बर वडाकै राँका गाउँका १ सय ५६ जना, वडा नं. ३ लिताकोट गाउँका ८७ जना, वडा नंं २ जर्मी डागीबाडा,सुन्दरगाउँका ८६ जना,वडा नंं ७ सर्मीका २३ जना,वडा नंं. ४ गिढीखोला क्षेत्रका १ सय ६७ जना र वडा नंं. ६ रावबाडाका ६ जना गरी जम्मा १२ सय १२ जना किसानको धानबाली नष्ट भएको हो ।
किसानले अझै पाएनन् राहत
बेमौसमी वर्षाले आएको बाढीबाट प्रभावित जुम्लाका पीडित किसानले अझै राहत पाएका छैनन् । बाढीले धानमा क्षति गर्दा जुम्लामा यस वर्ष झण्डै १२ सय मेट्रिक टन धान उत्पादन घटेको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५ हजार ४ सय बढी मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । धान उत्पादनमा गिरावट सँगै हाल सम्म राहत नपाउँदा किसान दोहोरो मारमा परेका छन् ।
चैत १२ गते मार्सी धानको बिउ राख्ने समय आउन थालिसक्यो । तर घरमा खान त परै जावस बिउ धान पनि छैन । तिला ३ का किसान धनराज योगीले भन्नुभयो,“शुरुमा राहत पाइने हल्ला सुनेका थियौ । बिउ राख्ने समय हुन थालिसक्यो कतैबाट केही पाएका छैनौ । अधिकांश खेत बगर बनेका छन् । बाँकी थोरै खेतमा धान रोप्न पनि बिउ छैन । बाढीले चिरा परेका खेत हेर्दा मन झस्किन्छ ।”
धनराज योगी जस्तै जुम्लाका १२ सय किसान बिउ राख्नकै लागि भएपनि राहतको पर्खाइमा छन् । तर स्थानीय तहको राहत दिने कुनै सुर देखिदैन् । यता कृषि विकास कार्यालयले भने १२ सय १२ जना किसानलाई क्षति अनुसारको राहत दिँदा झण्डै १९ लाख ३५ हजार बढीको राहत पाउने अनुमान गरेको छ ।
क्षतिको लगत सङ्कलन गरी राहतका लागि विवरण गृह मन्त्रालयमा पठाइएको कृषि विकास कार्यालयले जनाएको छ । क्षतिका आधारमा किसानले कममा एक हजार देखि बढीमा १० हजार सम्म राहत पाउने छन् ।
वर्षाले भिजेको धान उमारशक्ति परीक्षण बिना बिउ राख्न नपाइने भनिएपछि हाल सम्म उमारशक्ति परीक्षण पनि गरिएको छैन । किसान बिउ धान कहाँबाट जुटाउने भन्ने चिन्तामा छन् । विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सी धानको उत्पादन आगामी वर्षमा घट्दै जाने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्