‘भावी पुस्ताको जानकारीका लागि शहीदहरूको एकिकृत अभिलेख आवश्यक’
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहीदहरू एकिकृत अभिलेख तयार पार्न निर्देशन दिनुभएको छ ।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरमा रहेको शहीद स्तम्भमा माल्यार्पण गर्नुहुँदै प्रधानमन्त्री देउवाले सबै शहीदहरूबारे सत्य तथ्य जानकारी सहितको एकीकृत अभिलेख तयार पार्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको हुनाले उनीहरूको योगदानका बारमा आउने पुस्तालाई जानकारी दिन यथार्थ विवरण सहितको अभिलेख आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन सहिदहरूको योगदानकै कारण सम्भव भएको धारणा राख्नुहुँदै सहिदको सपना साकार पार्न सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको अबको लक्ष्य राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
जहानिँया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि विक्रम संवत् १९९७ सालमा भएको सङ्घर्षका क्रममा चार शहीदहरूले शहादत प्राप्त गरेको घटनाको सम्झना स्वरूप हरेक वर्षको माघ १० गतेदेखि माघ १६ गते सम्मको एक हप्तालाई सप्ताहका रूपमा मनाउने गरिन्छ ।
सहिद सप्ताहका अवसरमा गएका वर्षहरूमा प्रभात फेरी लगायतका विभिन्न कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण केही साङ्केतिक कार्यक्रमहरू मात्रै आयोजना गरियो ।








प्रतिक्रिया राख्नुहोस्