आहा रारा गोल्डकपको उपाधि एपीएफलाई
पोखरा । आहा रारा गोल्डकपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङ्दीलाई टाई ब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले २० औँ आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

खेलको २० औँ मिनेटमा वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिई युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफ कमजोर प्रदर्शन गरेको मनाङले दोस्रो हाफमा भने खेल सुधार गर्दै आक्रामक रुपमा खेलेको थियो ।
मनाङका तर्फबाट ६७ औँ मिनेटमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काउन सफल भए । खेल बराबरीमा भएसँगै पोखरा रङ्गशालाको माहौल निकै तातेको थियो ।
पुनः मनाङबाटै खेलको ८३ औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका दिलाए । तर, त्यो धेरै बेर टिक्न भने सकेन त्यस लगत्तै इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । खेल बराबरीमा गएसँगै टाई ब्रेकरमा गएको थियो ।
छ पटकको उपाधि विजेता टोली मनाङ र १४ वर्षपछि फाइनल पुगेको एपीएफबीचको खेल निकै रोमाञ्चक बनेको थियो ।
उपाधि उचालेको एपीएफले १० लाख रुपैयाँ हात पारेको छ ।








प्रतिक्रिया राख्नुहोस्