ट्राफिक प्रहरी कार्यालय चितवनको ६ महिनाको राजश्व सङ्कलन डेढ करोड बढी

चितवन । ट्राफिक प्रहरी कार्यालय, चितवनले आर्थिक बर्ष ०७८/०७९ को ६ महिनामा डेढ करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको साउन देखि पुस मसान्त सम्ममा १ करोड ५५ लाख ७९ हजार पाँच सय सङ्कलन गरेको हो । कारबाही गरिएका सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टरबाट राजश्व सङ्कलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार पाँच सय रुपैंया र ८ सय १२ वटा ट्याक्टर कारबाही बाट ७ लाख ५३ हजार रुपैंया राजश्व सङ्कलन भएको छ ।
यसैगरी कार्यालयले ३ हजार २ सय ३४ वटा ट्रक ट्रिपर कारबाहीबाट ३४ लाख ४९ हजार रुपैंया, २ हजार २ सय ६८ वटा बस माइक्रो कारबाहीबाट २० लाख ७१ हजार ३ हजार ९१४ वटा जिप कार कारबाहीबाट ३६ लाख ९४ हजार र २ हजार १६६ वटा टेम्पो तथा अन्य सवारी कारबाहीबाट १६ लाख ७० हजार रुपैंया राजश्व सङ्कलन गरेको छ । ६ महिनाको अवधिमा कुल १७ हजार १ सय ९ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले सवारीसाधनको कारबाही, प्रकृति र गल्ती अनुसार राजश्व सङ्कलन हुने बताउनुभयो । ‘सवारी चालकको गल्ती, प्रकृति अनुसार नै कारबाही हुन्छ, उहाँले भन्नुभयो, अर्को कुरा जुन प्रकृतिको सवारी सङ्ख्या बढी छ । लापरबाही पनि सोही सवारी साधनको भएको छ । ’
चितवनमा सबैभन्दा बढी मोटरसाइकल बढी चल्ने र दोस्रो बढी जिप, कार बढी गुड्ने र लापरबाही र गल्ती पनि उनीहरूले गरेकोले सोही अनुसार राजश्व सङ्कलन भएको उहाँको भनाई छ । चितवन भएर झण्डै दैनिक २५ हजार सवारीसाधन आवतजावत गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्