बागमती प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशलाई पूर्ण कोरोना खोपयुक्त घोषणा गर्न लागिएको बताउनुभएको छ ।
आइतबार हेटौँडा–९, स्थित सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री लामाले चाडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न लागिएको बताउनुभयो ।

मन्त्री लामाले प्रदेश सरकार सर्वसाधारण कोरोनाविरुद्धको खोप खोज्दै भौँतारिने भन्दा पनि खोप अभियान समुदायमै पुग्नुपर्छ भन्ने अवधारणाका साथ लागेको बताउनुहुँदै चाँडै नै पूर्ण खोपयुक्त घोषणा हुने बताउनुभयो ।
उहाँले सरकारको प्रयासमा सरकारी निकायसँगै सामाजिक सङ्घ संस्था र नागरिक समाजको सहकार्यले चैतसम्ममा सबैलाई खोप लगाउने अभियान सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । सबैको सहकार्यबाट कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणमा सहयोग हुने भएकाले खोप नलगाउनु भएका सबैलाई खोप अभियानमा सहभागी हुन मन्त्री लामाले आग्रह गर्नुभयो ।
स्थानीय प्रशासन, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न सङ्घ संस्था लगायतले खोप अभियानमा देखाएको सक्रियताको मन्त्री लामाले प्रशंसा गर्नुभयो ।
केन्द्रका अध्यक्ष राम विष्टलाई खोप, स्यानिटाइजर लगायत सामाग्री हस्तान्तरण गर्दै मन्त्री लामाले अभियान शुभारम्भ गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अविनाश अधिकारी लगायत सामाजिक तथा राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
तीन दिनसम्म सञ्चालन हुने खोप अभियानमा सर्वसाधारण, पूर्व प्रहरी, फ्रन्टलाईनर, औद्योगिक क्षेत्र प्रवेश गर्ने सवारी चालक लगायतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप विशेष प्राथमिकता लगाइने सेवा केन्द्रका सचिवालय सदस्य नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार अभियान सञ्चालनको अवधि थपिने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्