तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पनि अग्रपङ्क्तिमा खटिनेलाई बुस्टर डोज लगाउन सुरु

तनहुँ । तनहुँमा बुधबारदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ ।गत सोमबार बसेको खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार पहिलो खोप २०७७ माघ १४ गतेदेखि चैत मसान्तसम्म लगाएका साथै दोस्रो मात्रा खोप लगाइ ६ महिना पूरा भएकालाई बुधबारदेखि बुस्टर मात्रा खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

अग्रपङ्क्तिमा खटिएका तथा सार्वजनिक सेवामा खटिएका व्यक्तिहरूलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधवार स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स÷ शव वाहन चालकलाई बुस्टर डोज दिइएको छ ।

बुधवार १ सय ९२ जनाले बुस्टर डोज लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जसमा १ सय १९ जना पुरुष र ७३ जना महिलाले खोप लगाएका छन् ।

माघ ६ गते बिहीबार जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई र जनप्रतिनिधिलाई, माघ ७ गते सुरक्षा निकाय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, पत्रकार र सार्वजनिक फोहर सरसफाइकर्मी, सार्वजनिक यातायातका चालक र सहचालकलाई बुस्टर डोज खोप दिइने खोप अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

के हो बुस्टर डोज ?

कोभिड–१९ विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टिबडी कम हुँदै गएपछि कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान्छ।

पूर्णमात्रा खोप लगाइसकेपछि शरीरमा एन्टिबडी कम हुँदै जाँदा पुनः एन्टिबडी बढाउन लगाइने खोप हो, बुस्टर डोज।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।

खोप कार्ड अनिवार्य

सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मङ्गलवार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button