तपाईँ सुन्दै हुनुहुन्छः

तटबन्धका तारजाली चोर्दै बेच्दै : कवाडी बटुल्ने पाँचजना पक्राउ

विराटनगर । नेपाल सरकारले करोडौंको वजेटमा कटान नियन्त्रणका लागि खोलाहरूमा तारजालीसहितको तटबन्ध निमार्ण गरेको छ । खोलामा आउनेवाढीबाट  गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुङ्गासहितको तटबन्ध निमार्ण गरेको हो । 

मोरङ जिल्लाका वक्राहा, चिसांग , लोहन्द्रा , केशलिया, सिंगिया लगायत दजैनौ खोलामा ठुलो बजेटमा तटबन्ध निमार्ण भएका छन्  । सरकारले तटबन्धमा गरेको लगानी गाउँ जोगाउन र खेतीयोग्य जमिन बचाउन हो । स्थानीयपालिका तथा  नेपाल सरकारका सम्बन्धित कार्यालयले निमार्ण गरेका त्यस्ता उपयोगी तटबन्धको सुरक्षा नहुँदा  तटबन्धमा प्रयोग भएका तारजाली तोडेर काटेर विक्रिगर्ने क्रम अहिले  बढेको छ ।

 कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका ठाउँहरूका खोलामा केही मानिसले पैसा कमाउनकै लागि खोलामा लगाएको तारजाली तोडेर  कवाडीलाई विक्री गर्ने गरेको खुलेको छ ।

भारतबाट आएका कवाडीहरूले ३० रुपैयाँ किलोमा त्यस्ता  तराजाली खरिद गर्ने  गरेको पाइएको छ । साइकलमा आउने कवाडीहरूले  प्रायजसो उत्तरी मोरङ क्षेत्रबाट वढिमात्रामा  तारजाली खरिद गरेर ल्याउने र रातीको समयमा रंगेली नाका भएर भारततर्फ  लैजाने गरेको पाइएको छ । यसैबीच इलाका प्रहरी कार्यालय रंगेलीले तारजाली र साइकलसहित पाँचजना कवाडीलाई पक्राउ गरिसकेको छ । साइकलमा तारजाली हालेर  भारत लैजानेक्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनमोल खड्काले बताउनुभयो ।   २४ घण्टा सुरक्षामा खटिए पनि खोलाको तटबन्धमा  प्रयोग हुने तारजालीको चोरी निकासी नियन्त्रणमा यसअघि भने  प्रहरीको खासै ध्यान जान सकेको थिएन । तटबन्धमा प्रयोग भएका तारजाली चोरिगर्दै यसरी नै  बिक्री गर्दै जाने हो भने वर्षायाममा आउने बाढीले भोलिका दिनमा ठुलो खतरा निम्त्याउन सक्छ । 

 ३० रुपैयाँ केजीमा बिक्री गरेको तारजालीका कारण भोलि खोला आफ्नै गाउँघरमा पस्दा करोडौँको  क्षति हुन सक्ने भएकाले त्यस्ता उपयोगी सम्पत्तिहरू जोगाउन  सबैको ध्यान जान जरुरी देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button