जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई अध्यक्ष ओलीको आग्रह

भद्रपुर, झापा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।
आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित सहिद मनोज झपेन्द्र राष्ट्रसेवक सामुदायिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुभएको हो ।
सेवाग्राहीको काम सहज र पारदर्शी ढङ्गले छिटोछरितो रुपमा गरिदिन आग्रह गर्दै उहाँले यो वा त्यो बहानामा सेवाग्राहीलाई नअल्मल्यान आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनहरूमा कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै भ्रष्टाचारजस्तो जघन्य अपराध नगर्न पनि कर्मचारीहरूलाई सुझाउनुभयो ।
आफ्नो नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकारले विकास–निर्माणका काममा केही गर्न नसकेको दाबी गर्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा विकास निर्माणका सयौँ योजनाहरूको शिलान्यास र उद्घाटन गरेको भन्दै ओलीले विकासको लहर देखेर अत्तालिएकाहरूले आफ्नो नेतृत्वको ‘जनादेश’को सरकार ढालेर ‘परमादेश’को सरकार बनाएको आरोप लगाउनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन झापा र सङ्गठनमै आबद्ध कर्मचारीहरूले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको संयुक्त अगुवाइमा निर्माण भएको सामुदायिक भवनको अध्यक्ष ओलीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्