रेल सञ्चालनको अन्तिम तयारी हुँदै
जनकपुरधाम । करिब करिब निर्माण सम्पन्न भएको नेपालको एक मात्र जनकपुर–जयनगर–बर्दिबास ब्रोडगेज रेल सेवा सञ्चालनको तयारीमा नेपाल सरकार लागेको छ ।
भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म डेढ वर्ष अगाडी नै सञ्चालनको तयारी भए पनि पछिल्लो समयमा महोत्तरी जिल्लाको भंगहासम्म सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयारी अवस्थामा भएकाले सञ्चालनको प्रयासमा नेपाल रेल्वे कम्पनी लागेको हो ।

रेल सञ्चालनका लागि दुई वटा इन्जिन सहितको डब्बाहरू नेपाल सरकारले डेढ वर्ष अगाडी नै ८४ करोडमा खरिद गरेर ल्याएको भए पनि आवश्यक कानुनको अभावमा सञ्चालन भएको थिएन ।
अहिलेको सरकारले रेल्वे अध्यादेश पनि ल्याएका कारणले अव कानुनी रुपमा नै रेल सञ्चालन गर्नका लागि बाटो खुल्ला भएको छ ।
रेल सञ्चालनका लागि बनेका पूर्वाधारहरूको हालै मात्र भारतका प्राविधिकहरूले स्थलगत रुपमा अवलोकन एवं आवश्यक मर्मत गरेपछि अहिले सञ्चालन गर्ने अवस्थामा पुगेको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

जयनगरदेखि बर्दिवासम्म करिब ६९ किलोमिटरमा रेल सञ्चालन भएपछि नेपाली जनताको वर्षौँ देखिको नेपाली ब्रोडगेज रेल चढ्ने चाहना पुरा हुने छ । आज मात्र डेढ वर्ष देखि थन्काएको रेललाई जनकपुरधामको कुर्थासम्म ल्याउने काम भएको छ ।
नेपालको राष्ट्रिय ध्वजा अङ्कित रेल सञ्चालनका लागि कर्मचारीको व्यवस्थापन चाँडै गर्ने पक्षमा कम्पनी रहेको छ । नभए, भएका जनशक्तिबाट जनवरी भित्रमा नै रेल सञ्चालन गर्ने पक्षमा कम्पनी देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्