चैनपुर बजारमा सिसी क्यामेरा आवश्यक: डिएसपी विष्ट
बझाङ । बझाङको सदरमुकाम चैनपुरमा हुने आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर बिस्टले बताउनुभएको छ ।
बजार क्षेत्रमा रहेका युवा युवतीहरू लागु औषधको कुलतमा फसेको र आपराधिक गतिविधि बढेकाले त्यसको निगरानीको लागि बजार क्षेत्रका विभिन्न नाकाहरूमा सिसी क्यामरा राख्नु आवश्यक रहेको समेत डिएसपी विष्टको भनाई छ ।

बजारमा अहिले चोरीका घटनाहरू बढेकाले उक्त चोरी तथा आपराधिक घटना कम गर्न सिसी क्यामेरा बजारमा जडान हुनुपर्ने स्थानीयहरूले समेत बताएका छन् ।
आफूहरू राती कोठामा सुतेका बेला पसलमा कहिले ताला फोरेको त कहिले सामान चोरेको हुने र बजारमा रातभरि मदिरा खाएर होहल्ला गर्ने गरेकाले सिसी क्यामेरा आवश्यक रहेको आरजे मोबाइल ग्यालरीका सञ्चालक जनक धामीले बताउनुभयो ।
सदरमुकाम चैनपुर बजारमा सिसी क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयवासी बताउँछन् । सदरमुकाम चैनपुर बजारमा सडक बत्ती जडान भएका स्थानमा आवश्यकता अनुसार सिसी क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज हुने प्रहरीको धारणा छ ।
जय पृथ्वी नगरपालिका प्रमुख वीरेन्द्र बहादुर खड्काले यस विषयमा छलफल भइरहेको र चाँडै सदरमुकाम चैनपुर बजारमा सिसी क्यामेरा जडान गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्