तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्जमा सालको रुख काटेको आरोपमा एक जना नियन्त्रणमा

बारा । पर्सा राष्ट्रिय निकुञ्जले सालको रुख काटेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

मध्यवर्ती क्षेत्रको विवादित जग्गामा माछा पोखरी निमार्ण गर्ने क्रममा ३ ओटा सालको रुख काँटेको आरोपमा निकुञ्जले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ रामवनका  ३५ वर्षीय  सोमबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । 

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले पोखरी निर्माणको क्रममा विना अनुमति ३ वटा सालको रुख काटेको घटनामा तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

व्यक्तिको निजी जग्गामा लगाइएका सालको रुख काट्न सम्बन्धित वन कार्यालय वा मध्यवर्ती क्षेत्रभित्र भए निकुञ्जसँग लिखित अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ । तर, माछा पोखरी निमार्ण भइरहेको जग्गा मध्यवर्ती क्षेत्रभित्र पर्छ या व्यक्तिको निजी हो भन्ने विषय भने केही वर्षदेखि जिल्ला अदालत बाराका विचाराधीन अवस्थामा छ । 

तत्कालीन राजपरिवारबाट बकस पाएको भन्दै मध्यवर्ती क्षेत्रसँग जोडिएको बाराको रामवनमा १८ बिगाहा जग्गा शान्तबहादुर मल्लले आफ्नो भएको दाबी सहित भोग चलन गर्दै आएका छन् । पर्सा निकुञ्जले विवादित जग्गामा माछा पोखरी निमार्ण गर्न आदेश दिने लगानीकर्तालाई छोडेर मजदुरलाई कारबाही गरिएको भन्दै रामवनका स्थानीयहरूले विरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button