तपाईँ सुन्दै हुनुहुन्छः

सडक अतिक्रमण गरी २४ वटा संरचना निर्माण, हटाउन अल्टिमेटम

जुम्ला । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्ट देखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजनले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयले घर टहरा, पर्खाल सेफ्टी ट्याकी लगायतका संरचना निर्माण गरेको भेटिएको हो ।  

नापी कार्यालय र सडक डिभिजनले सडकको क्षेत्र नाप्दा घर टहरा,पर्खाल सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन जुम्लाका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो । 

उहाँका अनुसार अतिक्रमण हटाउन अभियान अन्तर्गत गरिएको नापी नक्साबाट २ वटा पक्की घर,४ वटा जस्तावाला घर,४ वटा पक्की सेफ्टी ट्याङ्की, ८ वटा तारजाली एंगल सहितका पर्खाल,१ वटा ढुङ्गाको पर्खाल र ५ वटा टहरा गरी २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् । 

सडक अतिक्रमण गरी निर्माण भएका २ वटा पक्की घर र ४ वटा सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिइएको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो,“पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र समेत दिएका छौ । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौ । १५ दिन नहटाए,सम्पर्कमा नआएपछि सडक ऐन २०३१ अनुसार भत्काइने छ । भने,घरको आँगन, निर्माण सामाग्री भत्काउने र हटाउन काम जारी छ ।”

त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ । भने, तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रवार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

साथै, बजार क्षेत्र पछि सडक अतिक्रमण गरेर तातोपानी २ जर्मीमा निर्माण गरिएका करिब साढे दुई दर्जन टहरा हटाइने भएको छ । सडक मिचेर घर टहरा निर्माण गरेका जर्मीका २८ जनालाई चाडै हटाउन समेत पत्राचार गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । 

यता बसपार्क क्षेत्रमा सडकको क्षेत्र नाप्ने क्रममै अमिनलाई एक जना घरधनीले ज्यान मार्ने धम्की दिएका छन् । सडक अतिक्रमण हटाउन जुटेका कर्मचारी माथि दिएको धम्कीप्रति नागरिक समाज, प्रहरी प्रशासन, सडक डिभिजनले खेद प्रकट गरेको छ । नापी नक्साप्रति चित्त नबुझे कानुनी हुँदाहुँदै पनि अतिक्रमण पनि गर्ने, कर्मचारीलाई उल्टै धम्काएर घरधनीले देखाएको कुरुर व्यवहार प्रति सरोकारवालाको ध्यानाकर्षण भएको छ । 

अतिक्रमण हटाउने बहस चलेको दशकपछि बल्ल सडक डिभिजनका प्रमुख राजीव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ, सुरक्षा निकाय, नागरिक अगुवा राजबहादुर महत लगायतको टोली अतिक्रमण हटाउन दैनिक आक्रामक भएर सडकमा उत्रिएपछि आम जुम्ली नागरिक खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button