एमाले मकवानपुरको जिल्ला अधिवेशनको तयारी पुरा

मकवानपुर । नेकपा एमाले मकवानपुरले आसन्न ११औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भोलिदेखि हेटौँडा हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरका प्रचार प्रसार उपसमिति संयोजक नवीन सिग्देलले कार्यतालिका सार्वजनिक गर्नुभयो । एमालेका ७७ वटै जिल्लाको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको विशेष आतिथ्यतामा बिहान ११ः३० बजे उद्घाटन हुने जिल्ला अधिवेशनको भोलि बेलुका ५ बजेबाट बन्द सत्रको कार्यक्रम हुने सिग्देलले जानकारी दिनुभयो ।
त्यस्तै सोही दिन बेलुका ५ बजे मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन ६ बजे हुनेछ भने राति ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । यसैगरी २४ गते बिहान २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन र बिहान ८ बजे अन्तिम नामावली प्रकाशनसँगै १० बजेदेखि ४ बजेसम्म मतदान कार्यक्रम हुने संयोजक सिग्देलले बताउनुभयो ।
जिल्ला अधिवेशनमा आयोजक प्रतिनिधि ३३५, मनोनीत प्रतिनिधि ३९, यस्तै बागमती गाउँपालिकाबाट २५, भीमफेदी गाउँपालिकाबाट २४, कैलाशबाट २५, हेटौँडा उपमहानगरपालिकाबाट १४९, बकैयाबाट ३०, ईन्द्रसरोवरबाट २१, राक्सिराङबाट २८, मकवानपुर गढीबाट ३२, थाहा नगरपालिकाबाट ४२ र मनहरी गाउँपालिकाबाट २९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । यस्तै पेशागतबाट ६ र मजदुर ९ जना गरी कुल ८ सय २ जना प्रतिनिधि छनौट भएको एमाले मकवानपुरले जनाएको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ सहित जम्मा १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्नेछ । जसमा बागमती गाउँपालिकाबाट ४ खुल्ला र १ महिला गरी ५ जना, बकैया गाउँपालिकाबाट ४ खुल्ला र २ महिलासहित ६ जना, गढी गाउँपालिकाबाट ३ खुल्ला र १ महिलासमेत गरी ४ जना, भीमफेदीबाट ४ खुल्ला र १ महिला गरी ५ जना, ईन्द्रसरोवरबाट २ खुल्ला र १ महिला गरी ३ जना, थाहा नगरपालिकाबाट ४ खुल्ला र २ महिलासमेत गरी ६ जना, कैलाशबाट ४ खुल्ला र १ महिला गरी ५ जना, राक्सिराङबाट ४ खुल्ला र १ महिला गरी ५ जना, मनहरीबाट ४ खुल्ला र १ महिला गरी ५ जना र हेटौँडा उपमहानगरपालिकाबाट ६ खुल्ला र ४ महिला समेत गरी १० जनालाई जिल्ला कमिटीमा समाहित गर्ने कार्यतालिका रहेको छ ।
यस्तै मजदुर इलाका ४ खुल्ला र १ महिलासहित ५ जना, पेशागत तर्फ १ महिला र १ खुल्ला गरी २ जना, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक बाट ४ खुल्ला र २ महिला गरी ६ जना जिल्लामा कमिटीमा समावेश हुनेछन् । त्यसै गरी दलितमा २ खुल्ला र १ महिला गरी ३ जना, महिला खुल्लामा १४ जना र अन्य खुल्लामा १६ जना गरी जम्मा १ सय ५ जनाले. एमाले मकवानपुरको जिल्ला कमिटीमा स्थान पाउने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले जिल्ला अधिवेशन पछि एमाले गाउँ गाउँ गएर पार्टीका गतिविधिलाई तीव्रता दिने बताउनुभयो । उहाँले अहिलेको सत्ता गठबन्धन सरकार विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्दै नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको चाहाना एमालेले मात्र पुरा गर्न सक्ने बताउनुभयो ।
प्रेस चौतारी मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठलगायत एमाले केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्