तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश राजधानी निर्माणका लागि सङ्घीय सरकारको १ अर्ब बजेट

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारबाट १ अर्बको बजेट लिन सफल भएको बताउनुभएको छ । 

यसै साता काठमाडौँमा सङ्घीय सरकारसँगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट प्रदान गरिएको मुख्यमन्त्री केसीले बताउनुभयो ।

काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग मुख्यमन्त्री कुलप्रसाद केसीको बीचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अर्ब बजेटको व्यवस्थापन भएको मुख्यमन्त्री केसीले बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा बन्न लागेकोले हाल सङ्घीय सरकारबाट १ अर्ब बजेट सङ्घीय सरकारले व्यवस्था गरिसकेको र आगामी दिनमा अझै सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । 

उहाँले अब प्रदेश राजधानी निर्माणको विषयमा नीतिगत र बजेटका हिसाबले तीव्र रुपमा अगाडि बढाउन बताउनुभयो । जग्गा  प्राप्तिको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको विषयले गति लिने उहाँको दाबी छ ।

मुख्यमन्त्री केसीले सङ्घीय सरकारले बजेट प्रदान गरेकोमा सङ्घीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गरिदिनका लागि आग्रह गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि सङ्घीय सरकारसँग ३ अर्ब बजेट माग गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

मुख्यमन्त्री केसीको पहलमै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाटपछि सङ्घीय सरकारले १ अर्ब प्रदान गरेको हो ।

यस रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिकरण कार्य समेत गरी अगाडि बढाइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button