तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेतद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का नवनियुक्त उपाध्यक्ष सुरेन्द्र बस्नेतले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका मन्त्री महेश्वर जङ्ग गहतराजले बस्नेतलाई शपथ गराउनु भएको हो ।

शपथ गराउनु पूर्व मन्त्री गहतराजले नियुक्ति पत्र दिनु भएको थियो । साथै कार्यक्रममा मन्त्री गहतराजले राष्ट्रिय युवा परिषद्ले एक सक्षम नेतृत्व पाएको बताउनुभयो । विगतमा भएका कमीकमजोरीलाई सुधार्दै सरकारका नीति तथा कार्यक्रमलाई अङ्गीकार गर्दै युवाहरूलाई सशक्तीकरण गरी काम गर्न समेत निर्देशन दिनुभयो । साथै पूर्व नेतृत्वले बसालेको जगमा टेकेर उपलब्धि हासिल गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दामोदर रेग्मीले उपाध्यक्ष बस्नेतलाई प्रतिस्पर्धात्मक ढङ्गले नियुक्त गरिएको बताउनुभयो । साथै परिषदमा थुप्रै अवसर र चुनौतीहरू समेत रहेको बताउनुभयो । देशमा रहेको ४०.३५ प्रतिशत युवालाई सशक्तीकरण गर्नेगरि काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष बस्नेतले नियम कानूनको अधीनमा रही काम गर्ने बताउनुभयो । युवाहरूको सशक्तीकरणका लागि मन्त्रालयसँग समन्वय गरी निष्ठापूर्वक र रचनात्मक ढङ्गले काम गर्ने बताउनुभयो ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले झापाका बस्नेतलाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको थियो । बस्नेत अखिल (क्रान्तिकारी) का पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button