तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा १६ हजार मतदाता थपिए

सल्यान । जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय स्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि जिल्लामा १६ हजार ६ सय ४९ मतदाता थपिएका छन् ।

कार्यालयले नौ वटा स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । 

बागचौर नगरपालिकामा भने इलाका प्रशासन कार्यालयबाट धेरैले नागरिकता लिएकाले पुस १९ गतेसम्म नामावली सङ्कलन भएको थियो । 

कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दका अनुसार बागचौर नगरपालिकामा सबैभन्दा धेरै मतदाता थपिएका छन् । 
उहाँका अनुसार बागचौर नगरपालिकामा २ हजार १ सय १७, दार्मा गाउँपालिकामा १हजार ८ सय ११, कुमाख गाउँपालिकामा १ हजार ३ सय ३४, कपुरकोट गाउँपालिकामा ६ सय ८९ जना मतदाता थपिएका छन् । 

यस्तै, छत्रेश्वरी गाउँपालिकामा ७ सय ३५, कालीमाटी गाउँपालिकामा ७ सय २७, बनगाड कुपिण्डे नगरपालिकामा ४ सय ८६, त्रिवेणी गाउँपालिकामा ९ सय ७५ र सिद्ध कुमाख गाउँपालिकामा ३ सय ५१ जना मतदाता थपिएका छन् । 

यसैगरी,  मङ्सिर १ गतदेखि पुस २१ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट ३ हजार ५ सय १३, जिल्ला प्रशासन कार्यालयबाट २ हजार २६ र इलाका प्रशासन कार्यालय थारमारेबाट १ हजार ८ सय ८५ जनाले नामावली दर्ता गराएका छन् । दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको सूचना अधिकारी चन्दको भनाई छ ।

यससँगै सल्यानमा १ लाख ६३ हजार ७ सय ७२ जनाको नामावली दर्ता गराएका छन् । 

उहाँले भन्नुभयो, “नाम दोहोरिएको भए हट्छ । परिचय पत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुनसक्छ ।  बसाइसराई गरी गएका हुन्छन् । सबै रुजु गर्ने काम भइरहेको छ ।”

 फोटो सहितको मतदाता नामावलीको लागि नेपाली नागरिकता प्राप्त गरेका सबैले नामावली सङ्कलन गरिएका पनि निर्वाचनको मिति घोषणा हुँदा १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उहाँको भनाई छ । 

पालिका स्तरमा अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको चन्दले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button