मकवानपुरमा भोलिबाट खोप अभियान सञ्चालन गरिने
मकवानपुर । मकवानपुर जिल्लामा बिहीबार (भोलि) बाट कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
जिल्ला खोप समन्वय समिति मकवानपुरको बुधवार बसेको बैठकले खोप लगाउनेको सङ्ख्या कम देखिएका जिल्लाका विभिन्न स्थानीय तहमा भोलि बिहीबारबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

विशेष गरी जिल्लाका मनहरी, राक्सिराङ, कैलाश र बकैया गाँउपालीकामा अधिकांश नागरिकले खोप नलगाएको पाइएकाले उक्त गाँउपालीकाहरुमा खोप अभियान सञ्चालन गरिने जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
जिल्लामा ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएको तथ्याङ्क रहेकाले बाँकी रहेकाहरूलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान सञ्चालन गर्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।
बैठकले विशेष गरी विकट स्थानीय तहहरूमा अपेक्षाकृत खोप कार्यक्रम सफल नभइरहेको सन्दर्भमा भोलिबाट उक्त स्थानीय तहका सरकारी कार्यालय, विद्यालय एवम् मानिसहरूको भिडभाड हुने स्थानहरूमा हेल्थ डेस्क स्थापना गर्ने र खोप नलगाएका स्थानीयहरूलाई खोप लगाउन उत्प्रेरित गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा खोप समन्वय समितिका सदस्यहरु, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्