जलवायु परिवर्तन र प्रभावबारे चौध बुँदे प्रतिबद्धता–पत्र जारी
सिन्धुपाल्चोक । ‘जलवायु परिवर्तन र यसको प्रभाव’ विषय अन्तरक्रिया कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति र स्थानीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन समिति, मेलम्ची नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनले पारेका प्रभाव बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा डा. रञ्जनकुमार दाहालले जलवायु परिवर्तनले मेलम्ची क्षेत्रमा निम्त्याउने भूविपद्हरु र उत्थानशीलताका लागि चाल्नुपर्ने कदमहरूका बारेमा प्रस्तुति राख्नुभयो । उहाँले मेलम्ची मुहान क्षेत्रमा गर्नुभएको अध्ययनको निष्कर्षका साथ उत्थानशीलताका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराउनुभयो ।
डा. धर्मराज उप्रेती, डा. रविनराज निरौला, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तनसम्बन्धी प्रस्तुति राख्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले गत सालकै पुनर्निर्माण नसकिएको बताउँदै यसपालि पनि थपिँदा चुनौती बढेको बताउँदै निर्माण कार्य सक्दो चाँडै सक्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा सांसद शेरबहादुर तामाङले कार्यान्वयन गर्ने निकायका व्यक्तिहरूको उपस्थितिमा यस कार्यक्रम भएकाले यहाँका समस्या समाधान गर्न सबै आआफ्नो ठाउँबाट लागिपर्ने बताउनुभयो ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालले विज्ञ समूहको अध्ययन प्रतिवेदन आई नसकेकाले अहिले काम गर्न नसकिएको जानकारी दिँदै नगरको तहबाट सकिने काम भइरहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले प्रथम गुफा डाँडा सम्मेलनले जारी गरेको दश बुँदे घोषणापत्रको समीक्षा गर्दै जलवायु परिवर्तनजस्तो जल्दोबल्दो विषय सिन्धुपाल्चोकले उठान गरी सतहत्तरै जिल्लामा पुर्याउन सफल भएको बताउनुभयो । उहाँले तेस्रो जलवायु सम्मेलन–२०७८ को १४ बुँदे प्रतिबद्धता प्रस्तुत गर्नुभयो ।

प्रतिबद्धता–पत्रमा मुख्यतः विश्वका विकसित तथा औद्योगिक मुलुकहरूबाट उत्सर्जन भएको हरित गृह ग्याँसका कारण बढ्दै गएको विश्व तापमानले नेपालमा रहेका हिमशृङ्खलाहरू अत्यन्तै जोखिममा रहेको हुँदा त्यसको संरक्षण गर्दै त्यसबाट परेको प्रभावहरूलाई न्यूनीकरण गरी मानव सभ्यताको अस्तित्वलाई संरक्षण गर्न विश्व समुदायको ध्यानाकर्षण गराउने, जलवायु परिवर्तनको कारण मेलम्ची, इन्द्रावती तथा अन्य क्षेत्रमा आएको गेग्र्यान बहावबाट मानव जनजीवन, विकासका संरचना र प्रकृति माथि गहिरो संकट देखा परेको परिस्थितिबाट सिर्जित प्राकृतिक तथा मानव सङ्कटको सुरक्षाको लागि बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाहरूको विपद् उत्थानशील पुनर्निर्माण तथा पुनर्स्थापना गर्न सबै सरोकारवाला पक्षहरू प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
कृषि, वन र पर्यटनलाई जलवायु अनुकूल र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद् प्रभावितहरूका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयन गर्न सबै सरोकारवाला पक्षहरू प्रतिबद्ध रहेको, स्थानीय, प्रदेश, सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी सङ्घसंस्था र निजी क्षेत्रमार्फत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र जलवायु अनुकूलनको राष्ट्रिय नीति अनुरूप स्थानीय जलवायु अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्ने र जलवायु अनुकूलन र विपद् पूर्व तयारी, पूर्व सूचना प्रणाली तथा प्रतिकार्यको लागि तदनुसार स्थानीय नीति, योजना र मापदण्ड तयार गर्नुका साथै जलवायु विपद् कोषको व्यवस्था गर्न प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्