तेस्रो जलवायु दिवस सम्पन्न
सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा आज मेलम्ची नगरपालिका वडा नं ९, गुफा डाँडामा तेस्रो जलवायु दिवस सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा सङ्घीय सांसद शेरबहादुर तामाङले हामीले वातावरण बिगारेका कारणले जलवायु परिवर्तनको प्रभाव भोग्नुपरेको उल्लेख गर्दै वातावरण जोगाउने जिम्मा हाम्रै भएकाले यसमा लाग्न आग्रह गर्नुभयो । साथै उहाँले पृथ्वीलाई बचाउने दायित्व मानवको भएकाले यस कार्यमा सचेतना जगाउने कामको अगुवाइ सिन्धुपाल्चोक जिल्लाले गरेकामा जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल लगायतले सम्बोधन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जलवायु परिवर्तनका सवालमा सचेतना जगाउन जिल्ला समन्वय समिति लागिपरेकामा अब यस कार्यमा अन्य क्षेत्रले पनि चासो दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट विद्यावारिधि गर्ने ३६ जनालाई सम्मान गरियो ।
विभिन्न समूहका रेस्लिङ खेलले दर्शक दीर्घामा भरपुर मनोरञ्जन दिएको थियो । सम्भवतः सिन्धुपाल्चोकमा यस किसिमको खेल पहिलो पटक भएको समन्वय समितिका प्रमुख तामाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्